इटहरीमा बजारको दिन सफारी प्रतिबन्ध : १५ दिनमा ११४ वटा सफारी समातिए : ५ जनाको हातमा एउटै लाइसेन्स
इटहरी । लामो समदेखि सम्बन्धित निकायहरूको टाउको दुखाइ विषय बनेको सिटि सफारी व्यवस्थापन बिस्तारै लयमा आउन थालेको छ । इटहरी उपमहानगरले टाइम कार्ड , अनिवार्य लाइसेन्स,रुट परमिट ,लगायतका नियम कडाइ गर्न थालेपछि हाल सफारी व्यवस्थापनमा सहज देखिन थालेको छ ।
इटहरी बजारको दिन सिटी सफारीलाई प्रवेश निषेध गरेपछि हुने भिड र सवारी चाप घटेको छ । उपमहानगरले नगर प्रहरी खटाएर सफारीलाई आइतबार र बुधवार बजार लाग्ने स्थानमा प्रतिबन्ध लगाएको हो । यो सँगै बजारमा देखिने अनावश्यक सफारी जाम , सवारी चाप र स्थानीयको भिड घटन थालेको छ ।
उपमहानगरले सफारी बजार प्रवेश गर्न नदिएपछि स्थानीयहरू भने बल्ल खुसी देखिन थालेका छन् । हेर्दा सानो भए पनि राम्रो काम भएको स्थानीय नगरवासी पुलकित मगर बताउँछन् । बजारको दिन सफारीले जहाँ पाए त्यही गरेको पार्किङकै कारण हटिया लाइन अस्तव्यस्त हुने गरेको थियो तर अहिले स्थानीय देखि साना सवारीसाधनहरू सहजै रूपले आवत जावत गर्न सक्छन् उनले भने । त्यस्तै जामकै कारण बिरामी बोकेको एम्बुलेन्स समेत बजारमा घण्टौ रोकिनुपर्ने झन्झट पनि अन्त्य भएको स्थानीयहरू बताउँछन् । इटहरीमा आइतबार र बुधवार नियमित बजार लाग्दै आएको छ ।
स्थानीयहरूबाट बजार व्यवस्थापन र सफारी जामबारे पटक पटक गुनासो आएपछि सोही गुनासोलाई मध्यनजर गर्दै समस्या सामधानका उपाय खोजी तत्काल कार्यान्वयनमा ल्याइएको उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताए । उनले हाल बजार क्षेत्रमा १० जना सम्म नगर प्रहरी २ जना ट्राफिक प्रहरी खटिने गरेको पनि बताए । यता इटहरीमा सफारी व्यवस्थापनको काम सुरु भए लगत्तै कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यालय इटहरीले नियमित चेकिङमा कडाइ गर्न थालेको छ । ट्राफिक प्रहरीले गएको माघ ५ गते देखि २२ गते सम्म ११४ वटा सिटी सफारीलाई कार्वाहि गरिसकेको जनाएको छ ।
कार्वाहिको क्रममा सिटी सफारी भित्र व्यापक लापरवाही देखिएको बत्ताइएको छ । एउटै लाइसेन्स परिवारका ५ जना सम्मले चलाएको चेकिङका क्रममा भेटिएको कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । १५ दिने चेकिङमा ६ वटा सिटी सफारी जसले एउटै लाइसेन्स परिवारका ४ देखि ५ जना सम्मलाई प्रयोग गर्न दिइएको भेटिएको प्रहरी प्रमुख पौडेलले बताए ।
अधिकांशको उमेर नपुगेको , लाइसेन्स नभएको , नम्बर प्लेट नभएको , सफारी सम्बन्धी कुनै ज्ञान नभएको , तालिम नलिएको ,धेरे जसोले नविकरणनै नगरेको , केहीले दर्तै नगरी सोझै राजमार्गमा निस्किएको पनि चेकिङको क्रममा फेला परेको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका मध्ये २६ वटा अझै पनि इटहरी उपमहानगरको होल्डिङ सेन्टरमा राखिएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
बाकिकालाइ भने उपमहानगरकै समन्वयमा छाडिएको पनि प्रहरीले बताएको छ । इटहरीमा सिटी सफारी व्यवस्थापनमा स्थानीय सरकार , ट्राफिक प्रहरी र इलाका प्रहरी समेत जुटेपछि अहिले राजमार्ग क्षेत्रमा सवारी जाम जस्ता समस्या हटेको छ ।
प्रतिक्रिया