माया घर नेपालको भवन निर्माण सुरु : पहिलो चरणमा १ करोड ३४ लाखको ५ तले भवन बन्ने

इटहरी / सुनसरिको इटहरी स्थित महिलाहरूको कर्म र हिम्मतले जन्माएको माया घर नेपालको नयाँ भवन निर्माण प्रक्रिया अघि बढेको छ ।

एमाले नेतृ तथा पूर्व मन्त्री भगवती चौधरिले शिलान्यास गरेको ७ महिना पछि भवन निर्माणले गति लिएको हो । कोसी प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानमा लागि परेको माया घर नेपालको पहिलो चरणमा तिन वटा सभा हल सहितको ५ तले भवन  निर्माण  थालिएको छ ।

जसको लागत १ करोड ३४ लाख रहेको छ । सङ्घीय सरकार र प्रदेश सरकारकाे ६ करोड बजेट विनियोजन पश्चात् पहिलो निकासा भएको १ करोड ३४ लाखले ५ तले भवन निर्माण थालिएको माया घर नेपालकि अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन ।

करिब ४ कट्ठा जग्गामा उक्त भवन बन्नेभएकाे पनि उनले जानकारी दिइन । भवन र काेठा अभावकै कारण सडकबाट उद्धार गरी ल्याएको मानिसहरूलाई राख्न कठिन भइरहेको र दाताहरूकै सहयोगको भरमा माया घर चलिरहेको पनि अध्यक्ष प्याकुरेलले बताइन ।

माया घर नेपालमा अहिले १३२ जनाले आश्रय लिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित