कला बिनाकाे शहर निरस बन्छ : राजेश हमाल

सुन्दरहरैँचा/ नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले हामी सबैले कलाको सम्मान गर्न आवश्यक भएको बताउँनु भएको छ । मोरङको सुन्दरहरैँचामा निर्माण हुन लागेको नाट्य केन्द्र अन्तर्गतकाे मुक्त रङ्गमञ्चको शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउँनु भएको हाे। उहाँले रङ्गमञ्चको शिलान्यासको क्रममा कला अनावश्यक जस्तो लागे पनि आवश्यक वस्तु भएको उल्लेख गर्नुभयाे ।महानायक हमालले कहिलेकाहीँ कलाको महत्व केही छैन सबै झुटो हो जस्तै लागे पनि गहिरिएर हेर्ने हो भने त्यो आफ्नै वा आफू वरीपरीका व्यक्तिको कथाजस्तो लाग्ने गरेको बताउँनु भयाे । ‘कला बुझ्ने समुदायको अभाव रह्यो भने त्यो क्षेत्र निरस हुन्छ ’ हमालले भन्नूभयाे ´कला अनावश्यक आवश्यकता हाे ,कला झुटको खेतीजस्तो लागे पनि यो यस्तो झुटको खेती हामी सिर्जनशील व्यक्तिले पस्किन्छौँ जुनचाहिँ ग्रहण गर्ने दर्शकले सही ढङ्गले गर्याे भने जीवनको वास्तविकता पत्ता लगाउन मद्दत गर्छ ´।

हमालले संसारको कुनै पनि प्रख्यात शहरको नाम किन लिइन्छ भने त्यहाँ कला बुझ्ने, कला पस्कने कला ग्रहण गर्ने संस्कृति र इतिहास बोकेको उल्लेख गर्नुभयाे । विश्वका जुनसुकै देशका शहरमा यस्तो इतिहास पाइने हमालले उल्लेख गर्नुभयाे । काठमाडौंको उदाहरण दिँदै उहाँले भन्नूभयाे ‘कला, संस्कृति, रीतिरिवाज, मठमन्दिर, सङ्गीत आदि हटाइदिनुभयो भने काठमाडौं शहर निरस हुन्छ ।’

प्रत्येक नागरिकमा कुनै न कुनै किसिमले सिर्जनाको बीउ रोपिएको हुने भए पनि हाम्रो दैनिक भागदौडको क्रममा त्यसलाई प्रस्फुटन गराउन नसकेको हमालले बताउँनु भयाे । केही व्यक्तिले आफ्नो प्रतिभा चिनेर त्यसै अनुसार साधना गर्दै जाँदा सफल हुन जाने उहाँकाे भनाइ थियो । ‘जिन्दगीको भागदौडमा यो कलाले हामीलाई के दिने हाे र हामी त आधुनिकतातिर, सम्पन्नतातिर जाने हो भन्ने हामीलाई लाग्छ’, पहिलो पटक सुन्दरहरैंचामा कार्यक्रम गर्न आउँनु भएका हमालले भन्नुभयाे ‘यदि हामीमा कला बुझ्ने सुझबुझ छ भने हाम्रो समस्यालाई बुझ्न त्यसले सहयोग गर्ने हामी बिर्सिन्छौँ ।

तपाईको प्रतिक्रिया