३० लाखमा अनुबन्ध गायक आशिष सचिनले एक वर्ष ओएसआर डिजिटलको ब्यानरमा काम गर्ने

काठमाडौं / दारी फुल्यो वैँशैमा, एक कान दुईकान मैदान, गलबन्दी पछ्यौरी, ए मुना, लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । सम्झौताअनुसार गायक आशिष सचिनले एक वर्षसम्म  ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा काम गर्नुपर्नेछ ।

एक वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले आटवटा गीतसहित वर्षभरि आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्युजिक भिडियो बजारमा ल्याइरहेका  छन् ।
गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो  छमक छमक तेरी पाउजुले औधी चर्चा बटुल्न सफल भएको छ । 

गायक आशिषको दारी फुल्यो वैँशैमा बोलको गीतले करिब ९ करोड ७० लाख (९७  मिलियन) दर्शक पाइसकेको छ । जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचिको शीर्ष स्थानमा रहेको छ । गायक आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन् । उनको माग देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि बढ्दो  छ ।
 

तपाईको प्रतिक्रिया