उर्लाबारी / पछिल्लो समयमा म्यूजिक भिडियोहरू निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहुँ जसो नयाँ मोडेल र कलाकारहरू जन्मिरहेका छन् । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ, रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सीमित हुन्छन्, त्यसमा एक प्रतिनिधि पात्र बनेकी छिन्, राधिका शर्मा । आकर्षक चेहरा, मृग नयन र मिठो मुस्कान छरिराख्ने उनको बानीले जोकोहीलाई पनि प्रभावित नै बनाउँछ ।
राजघाट–४ मा जन्मिएकी राधिका हाल अध्ययनका साथै मोडलिङमा भाग्य कोर्ने तरखरमा छिन् । विवेक हिङमाङले निर्देशन गरेको ’मेरो माया तिमीलाई’ गीतबाट म्यूजिक भिडियोमा डेब्यू गरेकी उनले चलचित्रबाट अफर आएको खण्डमा तयार रहेको बताउँछिन् । उनले उत्साहित हुँदै भनिन् ’अभिनय राम्रो गर्नु पर्छ, मेहनत र निरन्तरता दिनु पर्छ, सिक्दैछु आशा छ भोली मोडल राधिका शर्मा भनेर चिनिने छु ।’ कथाले माग्यो भन्दैमा समाजले नपचाउने खालको दृष्य दिने नसक्ने राधिकाको भनाई छ । समाजले पचाउनेसम्म मोडलिङ क्षेत्रमा खुल्ने उनको सोचाई छ । घरपरिवार तथा साथीभाइबाट साथसहयोगका साथै प्रेरणा, हौलसा मिलेको बताउने राधिका आफूमा भएको आत्मविश्वास नै सफलताको कडी रहेको बताउँछन् ।
आफूलाई सिंगल भन्न रूचाउने उनले भनिन्, ’अहिले म सिंगल नै छु । आफ्नो करिअर बनाएर मात्र विवाह गर्छु ।’ भेट्नेले प्रेम प्रस्ताव धेरै राख्ने गरेको बताउने उनले अहिले नै प्रेम चक्करमा नफस्ने बताइन् । ’पहिला आफ्नो क्षेत्रमा स्थापित हुने, परिवारका साथै आफ्नो कर्तव्य निर्वाह गरेपछि मात्र विवाहको बारेमा सोच्छु’ उनले बताइन् । राधिकालाई आफ्ना भावना बुझ्ने र अरूलाई सम्मान गर्ने व्यक्ति मन पर्छ ।
ग्रामीण क्षेत्रबाट पूर्वाञ्चलस्तरीय प्रतियोगिताको उपाधि उचाल्नु कुनै चानचुने कुरा होइन । आफूमा भएको आत्मविश्वास, क्षमता, धैर्यता र लुकेको प्रतिभाले नै राधिकाले गत पुसमा मिस ग्लामरको ताज पहिरिइन् । राधिकाको उपाधिले राजघाटको सान नै बढेको छ । आफूलाई मात्र होइन, उनले राजघाटलाई समेत राष्ट्रियस्तरमा चिनाइन् । यसबाट सबै राजघाटवासी गर्वान्वित भएका छन् । प्रतुति : ईश्वरचन्द्र भट्टराई