इटहरीका दिनेश कोइरालाले ‘छक्का पन्जा-४’ अभिनय गर्ने

इटहरी / प्रदेश १ बाट कलाकारिता कर्मलाई अगाडि बढाइरहेका मोडल तथा अभिनेता दिनेश कोइराला दिपक-दिपाको ‘छक्का पन्जा-४’ मा अभिनय गर्दैछन् । प्राप्त जानकारी अनुसार उनी दर्शकको नजरमा पर्ने रोलसहित यो फिल्ममा अनुबन्ध भएका छन् । ‘छक्का पन्जा’ सिरिजमा राजाको उपनामले समेत चिनिएका निर्माता तथा कलाकार दिपक राज गिरिको साथिको भुमिकामा कोइरालाले आफ्नो अभिनय कला ‘छक्का पन्जा-४’ मा प्रस्तुत गरिरहेको जानकारी विश्वस्त श्रोतबाट डिथ्री अनलाइनलाई प्राप्त भएको छ । छक्का पन्जा ब्राण्डसंग जोडिएर काम गर्ने धेरै सिनेकर्मीको इच्छा हुन्छ । त्यसैले त फिल्म क्षेत्र छाड्ने सोच बनाइसकेकी मलिनाले समेत यो टिमको अफरलाई सहर्ष स्विकार गर्दै पुनः सिनेकर्ममा फर्किइन् ।

अब ‘छक्का पन्जा छुने र स्टार हुने’ लहरमा कोइराला चाहिँ पर्छन पर्दैनन् त्यो भने हेर्न बाकी नै छ । कोइराला स्वयंले भने फिल्म युनिटको अनुमती नभएका कारण आफ्नो रोलको बारेमा केही बताउन चाहेनन् । सुनसरी इटहरीका उनि यतिबेला यहि फिल्म छायांकनका लागी काठमाडौमा छन् । श्रोतका अनुसार उनले केहि दिनदेखी सट दिइरहेका छन् भने उनको १५ दिनको छायांकन तालिका छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को महासचिव समेत रहेका उनी ‘छक्का पन्जा-४’ निर्माता तथा कलाकार दिपाश्री निरौला निकट हुन् । छक्का पन्जाको यो सिरिजमा दिपक राज गिरि ‘राजा’ को साथीको भुमिका निर्वाह गर्ने जितु नेपाल छैनन्, कतै उनकै ठाउँ कोइरालाले ओगटेका त हैनन् ? त्यो जान्नको लागी भने फिल्म रिलिज पर्खिनै पर्ने हुन्छ ।

दिनेशलाई अभिनयको मोह बचपन हुँदादेखीकै हो । सानै हुदा करिव ५३ सालतिर उनले ‘द कमाण्डो’ फिल्ममा अभिनय गर्दै बाल कलाकारबाट फिल्म क्षेत्रमा पाइला चालेका थिए । हालसम्म उनले मिराज, झिल्के, म पर्खिरहन्छु, फेक फ्रेन्ड, राम साइली, अभियान लगायत आधा दर्जनबढी फिल्ममा अभिनय गरिसकेका छन् । यसमध्ये केही फिल्म रिलिज भएभने केही रिलिजको पर्खाइमा छन् । उनको जति फिल्म रिलिज भए, उनी चल्ने त कुरै छाडौ फिल्म नै फ्लप भयो । प्रतीक्षाको फल मिठो हुन्छ भने झै अब ‘छक्का पन्जा-४’ बाट उनको फिल्म अभिनयको करियर चम्किलो हुने अपेक्षा गरौ ।

काठमाडौमा पढाइको क्रममा रहदा कोइरालाले २०६२ सालमा र्याम्प वाल्क गर्दै मोडलिङ क्षेत्रमा प्रवेश गरेका थिए । यता म्युजिक भिडियो मोडलिङमा भने ६२ सालमै उनले अन्जु पन्तको ‘छाडी गयौ किन’ गीतको भिडियोबाट यात्रा सुरु गरेका थिए भने हालसम्म ३ दर्जन बढी म्युजिक भिडियो तथा २ दर्जन बिज्ञापनमा अभिनय गरिसकेका छन् । पढाइमा समेत अब्बल उनले सिएमए पढेर प्रथम भएका थिए । आर्मीको मेडिकल डिपार्टमा समेत जागिर खाएका उनलाई हिरो हुने रहर कहिले मरेन । कोइरालाले थुप्रै सर्ट मुभिहरुसंगै उमेर गयो बैँस गएन, इर्किनी मिर्किनी लगायत टेलिफिल्ममा समेत अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया