छिरिङ र नुमाले जिते एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ तथा डान्सिङ स्टार सिजन–१

धरान / धरान-१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिद्वार्थ सेकेन्डरी स्कूल सुन्दरहैंचा १० की नुमा लिम्बूले प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट-१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को उपाधि जितेका छन् ।

धरान-१५ स्थित चुम्लुङ हिमको भवनमा शुक्रबार राति ९ बजे सम्पन्न प्रतियोगितामा उनीहरु बिजेता घोषणा भएका हुन् । छिरिङ र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।

यस्तै, गायनतर्फ धरान–१६ स्थित जेनिथ स्कुलका रिजन लोहनी फस्ट रनरअप र धरान-१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलकी गनु राई सेकेण्ड रनरअप बनिन् । उनीहरु दुवैजनाले क्रमशः ३० हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र तेश्रो हुनेले १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गरेका छन् ।

यस्तै, नृत्यतर्फ धरान-१० स्थित युएन स्कुलकी नियति राना मगर फस्ट रनरअप र धरान-१२ स्थित सुनाखरी एकेडेमीकी प्रकृति खापुङ सेकेण्ड रनरअप बनिन् । उनीहरु दुवैजनाले क्रमशः ३० हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र तेश्रो हुनेले १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गरेका छन् । प्रतियोगिताका निर्णायकमा गायनतर्फ भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू र विनायक राई थिए भने नृत्यतर्फ छमछमी सिजन-३ कि फस्ट रनरअप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्वाहाम्फे र लोक श्रेष्ठ रहेका थिए ।

उनीहरुलाई आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापो, सल्लाहकार राम लिम्बू, सिजी फुडस नेपाल (वाइवाइ) प्रदेश १ का सहप्रबन्धक रविन्द्र मास्के, धरान प्रतिनिधि लिलानाथ ढुङ्गाना, होटल पिस पोखराका सञ्चालक मित्र तिवारी, युएन कलेजका होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, इभेन्ट म्यानेजर तिर्थ कार्कीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख खापुङले प्रदेश १ का स्कुले बालबालिकाहरुको प्रतिभा प्रष्फुटन गर्न कार्यक्रम आयोजना हुँदा खुशी लागेको बताए । उनले आफूले विद्यार्थीको प्रतिभा देखेर दङ्ग परेको समेत बताए ।

एफटिएल अनलाइन टिभीले आयोजना गरेको प्रदेश नम्बर १ भरीबाट फाइनलमा १०-१० जना छनौट भएका थिए । प्रतियोगितामा गायिका मिलन अमात्य, गायक विकास तुम्बापो, शिक्षिका ज्योति सुनुवारलगायतले गीत पस्किएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया