सुन्दरहरैंचाका श्रेष्ठले नगद ५ लाख सहित जिते मिस्टर नेपालको उपाधि

सुन्दरहरैंचा / मोरङ सुन्दरहरैंचाका २६ वर्षीय नुतन श्रेष्ठले यस वर्षको मिस्टर नेपालको उपाधि जित्न सफल भएका छन् । फाइनल प्रतिस्पर्धामा श्रेष्ठले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगद सहित ‘मिष्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा झापाका अभिषेक चुडाँल फस्ट रनरअप घोषित भए ।काठमाडौंका एलिस गिरी सेकेन्ड रनरअप, कैलालीका समीप शाही थर्ड रनरअप तथा मोरङका विशाल कट्वाल फोर्थ रनरअप घोषित भए । अन्य विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा पूर्व मिस्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री रिचा शर्मा, सञ्चारकर्मी एवं अभिनेता सुरजसिंह ठकुरी तथा फोटोग्राफर राजभाई सुवाल निर्णायकको रुपमा रहेका थिए । प्रतियोगितामा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा.सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट ठहरिए ।

‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । सञ्चारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको सञ्चालनमा भएको कार्यक्रममा गायिका सुवानी मोक्तानकाे प्रस्तुतिले अझै राैनक थपेको थियो । बौद्धस्थित हायात रिजेन्सीमा पेजेन्टलाई नेक्स्ट मोडल नेपालले आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया