सार्बजनिक लगत्तै विवादमा प्रकाश सपूतको ‘पिर’, युट्युबबाट तत्काल हटाउन दबाव

इटहरी/ राम्रा, यथार्थपरक र ठेट नेपालीपन बोकेका गितहरुले छोटो समयमा लोकप्रिय भएका गायक प्रकाश सपूत पछिल्लो समय विवादको भुमरीमा झेलिन थालेका छन् । केही समयअघि रक्सीको प्रचार गरेको भन्दै सामाजिक संजालमा चर्को आलोचना खेपेका सपुतको नया गीत ‘पिर’ ले पनि उनलाई पिरोल्न थालेको छ । सार्बजनिक भएको २४ घन्टा नबित्दै यो गीतलाई युट्युबबाट हटाउन दबाव सुरुभएको छ । गीतमा माओवादी द्वन्दका कथालाई सपुतले यथार्थ चित्रण गरेका छन् । जुन कुरालाई सहन नसकेर अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक गीत ‘पीर’लाई युट्युवबाट हटाउन अनुरोध गरेकी हुन् ।

सो गीतको भिडियोमा जनयुद्धको कथाको हवाला दिएर महिला लडाकुलाई देह ब्यापार गर्ने पात्रका रुपमा चित्रण गरिएको र जनयुद्धमाथि प्रहार गरिएको भन्दै उक्त आग्रह गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा पञ्चाले लेखेकी छन्, ‘महान जनयुद्धको कारण केही थान मन्त्रीहरु, माननियहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार, पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन् । ब्यवस्थापनमा केही नभएको भन्ने पनि होेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन् । तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरि प्रकाश सपूतजिले युटुवमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ।’

उनी थप्छिन् ‘जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३५ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो । तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

सार्बजनिक गीत यतिबेला छोटो समयमै भाईरल भैसकेको छ । १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला यो समाचार तयार गर्दासम्म युट्युबको ट्रेन्डिङको चौथो स्थानमा रहेको छ । गीतमा प्रकाश सपुतकै स्वर, शब्द र संगीत समावेश गरिएको छ भने भिडियोको कथा तयार र निर्देशन पनि उनैले गरेका हुन् । भिडियोमा प्रकाशको अलावा सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन ‘केसरी’, पुष्पा अवस्थी र बिशाल घिमिरेको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रकाशकै युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ भने प्रबिण भट्टले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया