निरुता सिंह भन्छिन् : नेपाली फिल्म र दर्शकको माया मार्न सक्दिनँ

काठमाडौं / एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा बस्दै आएकी निरुता रियालिटी शो डान्स च्याम्पियनको निर्णायकको अभिभारा बहन गर्न काठमाडौं आएकी हुन् ।

वरिष्ठ निर्देशक तुलसी घिमीरेको खोजको रूपमा ‘दक्षिणा’ फिल्मबाट डेब्यू गरेकी निरुताले त्यसपछि ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’ लगायतका थुप्रै हिट फिल्म दिइन् । विशेषगरी सेन्टिमेन्टल दृश्यका लागि चर्चित रहेकी निरुताले ‘माइली’ फिल्ममा भने आधुनिक युवतीको भूमिका निर्वाह गरिन् ।
त्यसपछिका दिनमा उनका फिल्म चल्न छाडे । फिल्म हात पर्ने क्रम घट्दै गएपछि उनी बलिउडमा ‘ट्राई’ गर्न मुम्बई गएकी थिइन् । मुुम्बईमा खासै उल्लेख्य कलाकारिता गर्न नपाए पनि उनी बेलाबेलामा काठमाडांै भने आइरहन्छिन् ।

पछिल्लो समय निरुता भुवन केसीको ‘क्याप्टेन’ फिल्मको ‘तिमी अर्कैको चिया बगान…’ बोलको गीतमा देखापरेकी थिइन् । सोही वर्ष उनी प्रमुख भूमिकामा अभिनित ‘दाल भात तरकारी’ फिल्म प्रदर्शन भएको थियो । मह जोडीको सो फिल्मले दर्शकको साथ भने पाएन ।

आफू जहाँ रहे पनि नेपाली फिल्म र दर्शकको माया मार्न नसक्ने निरुता बताउँछिन् । आफूलाई सुहाउने चरित्र र भूमिका भएमा जुनसुकै बेला पनि नेपाली फिल्ममा अभिनय गर्न आफू तयार रहेको उनको भनाइ छ । ‘डान्स च्याम्पियन’ को एक निर्णायकको रूपमा रहन पाउँदा आफूलाई निकै गर्व लागेको उनले बताइन् । अभिनेता गजित विष्टको निर्देशनमा रहेको सो रियालिटी शो २५ कात्तिकदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदैछ ।

तपाईको प्रतिक्रिया