पुर्व-राजपरिवारको कार्यक्रममा कलाकारको लर्को, तस्वीरले रंगियो सामाजिक संजाल (तस्विरहरू सहित)

इटहरी/ कोरोनाका कारण कलाकारहरू पछिल्लो समय जमघट हुन सकिरहेका थिएनन् । अब भने सिनेमा क्षेत्र समेत चलायमान हुन थालेसंगै कलाकारहरुको जमघट बाक्लिदो छ । यतिबेला सामाजिक संजालमा कलाकारहरूको जमघटको चर्चा छ । पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर काठमाडौको भिआईपी होटलको रुपमा परिचित सोल्टी होटलमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

सोही कार्यक्रममा कलाकारहरूको बाक्लो उपस्थिति देखिएको हो । सिनेमा क्षेत्र मात्रै हैन संगीत उधोगका हस्तीहरु समेत सो कार्यक्रमम सहभागी भएका थिए । कार्यक्रममा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, दीपकराज गिरी, सरोज खनाल, जीतु नेपाल, सन्तोष पन्त, केदार घिमिरे, दीपेश्वर गौतम, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अभिनेत्री करिश्मा मानन्धर, पबित्रा आचार्य, शमिल्ला मल्ल, सरिता लामिछाने, सुष्मा कार्की उपस्थित थिए ।

यस्तै लोक गायिका सुनिता दुलाल, लोकगायक कृष्ण कँडेल, गायक सुगम पोख्रेल, सत्यराज आचार्य, स्वरुप राज आचार्य लगायत थुप्रै कलाकारको सहभागिता थियो । कार्यक्रममा पुरुष कलाकारहरु प्राय दौरा सुरुवाल र सुटमा सजिएर सहभागी थिए भने महिला कलाकार सारीमा आकर्षक देखिन्थे । कार्यक्रममा सहभागी कलाकार, साहित्यकार लगायत अधिकांशले पूर्व राजपरिवारसँग फोटो समेत खिचाए ।

उक्त कार्यक्रमका तस्बिरले अहिले सामाजिक सञ्जाल समेत रंगिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी, पारस र हिमानी पुत्र हृदयन्द्र उपस्थित कार्यक्रममा पूर्वरानी कोमल भने अनुपस्थित थिइन् । पञ्चेबाजा समेत घन्काइएको कार्यक्रमस्थलमा बेला–बेला शंखध्वनी समेत गुन्जिएको सुन्न सकिन्थ्यो । कार्यक्रमस्थलमा बाँसुरी, सारंगीको मौलिक धुनसँगै र मादलका ताल समेत गुञ्जायमान थियो ।

तपाईको प्रतिक्रिया