लाेकसङ्गीतकाे जगेर्ना गर्न एकजुट हुँदै पूर्वेली कलाकार

काठमाडौं । पूर्वी नेपालका कलाकारहरुको यही भाद्र-१२ गते शनिबारका दिन विशाल भेला र छलफल सम्पन्न भएको छ । उक्त भेलाले लोकसंस्कृतिसम्बन्धी एउटा प्राज्ञिक प्रतिष्ठानको स्थापना गर्ने र देहायअनुसारको उद्देश्यहरुमा केन्द्रित भइ विभिन्न कार्यहरू गर्ने गरि एउटा तदर्थ समिति पनि गठन गरेको छ ।

भेलाले पूर्वी नेपालमा जन्मिएर विशेषत: लोकसङ्गीतको क्षेत्रमा क्रियाशील संस्था, सर्जक तथा कलाकारहरुको खोजी गरि अभिलेखीकरण गर्ने, उनीहरुलाई सम्मानित तथा पुरस्कृत गर्ने, पूर्वी नेपालका लोकसङ्गीतको अध्ययन अनुसन्धान गर्ने, वास्तविक लोकसङ्गीतको पहिचान गरि लोकसङ्गीतको क्षेत्रमा देखापरेको र देखापर्न सक्ने विकृति विसङ्गतिलाई निरुत्साहित तथा नियन्त्रण गर्ने, लोकसङ्गीत क्षेत्रमा लागेका अग्रज स्रष्टाहरुलाई हरेक वर्ष सम्मानित एवं पुरस्कृत गर्दै यस क्षेत्रमा लागेका नवोदित स्रष्टाहरुलाई प्रोत्साहन, प्रेरणा र आवश्यक सहयोग गर्ने, परम्परित लोकबाजाहरुको, लोकभाकाहरुको, लोकभाषाहरुको संरक्षण, सम्बर्द्धन एवं प्रबर्द्धन गर्ने, पूर्वी नेपालमा प्रचलित लोकसङ्गीतसम्बन्धी पाठ्यक्रम निर्माण गरि स्थानीय विद्यालयहरुमा पठनपाठन गराउने, एउटा अन्तर्राष्ट्रिय स्तरको लोकसङ्गीत संग्रहालयको स्थापना गरि लोकसङ्गीतसँग सम्बन्धित मूर्त (लोकबाजागाजाहरु, लोकपहिरनहरु, लोक सामग्रीहरु आदि) तथा अमूर्त (भाका, लय, ताल, प्रस्तुति आदिको रेकर्ड र छायाङ्कन आदि) सांङ्गीतिक सामग्रीहरुको संग्रह गर्ने, लोकसङ्गीतसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको पुस्तकालयको स्थापना गर्ने, एक नम्बर प्रदेशमा जन्मिएर नेपाली लोकसङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराउने वरिष्ठ अग्रज व्यक्तिहरुको नाममा पुरस्कार स्थापना गरेर नवोदित सर्जक तथा कलाकारहरुलाई प्रदान गर्ने, लोकसङ्गीत क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई मर्दापर्दा आर्थिक सहयोग गर्नका लागि एउटा आपतकालीन उदार कोशको निर्माण गर्ने, हरेक वर्ष कम्तिमा स्नातकोत्तर (एमए) तहको लागि ५ जना, एमफिल तहका लागि तीन जना र विद्यावारिधि (पिएचडी) तहको लागि दुईजना शोधार्थीहरुलाई लोकसङ्गीतसम्बन्धी शाेध गर्नका लागि छात्रवृत्ति र विद्वतवृत्ति उपलब्ध गराउने, पूर्वी नेपालमा प्रचलित लोकसङगीतको अध्ययन, अनुसन्धान, संरक्षण र सर्वाङ्गीण विकासको लागि निरन्तर क्रियाशील रहने आदि निर्णय गरेकाे छ ।

उक्त भेलामा लोकसंस्कृति तथा लोकसाहित्य क्षेत्रका लेखक तथा अनुसन्धाता संस्कृतिविद् डा.भक्त राई, प्रसिद्ध गायक तथा सङ्गीतकार शम्भु राई, लोकगायक तथा सङ्गीतकार जितेन राई, चर्चित सङगीतकार शन्तिराम राई, सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य गायिका सत्यकला राई, प्रसिद्ध गायक नवीन ढुङ्गेल, चर्चित वाद्यवाधक चैनपुरे, गीतकार शुभ मुकारुङ, चर्चित गायक खगेन्द्र याक्सो, गायक तथा सङगीतकार अशोक मुकारुङ, प्रसिद्ध युवा सङ्गीतकार डि.आर. अटु, चर्चित गायक भीषण मुकारुङकाे सहभागिता रहेकाे थियाे । यसैगरि आभा मुकारुङ, खुसिन्चो राई, विमला राई, भवानी विक्रम सम्बाहाम्फे, अनिल कोयी, मेचु धिमाल, सुमन राई, बबिना किराती, राजु कार्की, लीला श्रेष्ठ, जितेन बान्तावा, कुशल थलङ, अमृता लिम्बू, पदम राई, रेवत राई, राजसुक्र लिम्बू, गणेश ईशारा, सबिना योङहाङ, शशी गुरुङ, कुशुम गुरुङ, मन्जु लिम्बू, पत्रकार मनिराज गुरुङलगायतका सयौं कलाकार तथा सर्जकहरुको कार्यक्रममा उपस्थिति रहेको थियाे । उक्त भेलाले सङ्गीतकार डि.आर.अटुको संयाेजकत्वमा १५ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ ।

समितिकाे संयाेजकमा डि.आर. अटु, सहसम्योजक: अशोक मुकारुङ, सचिब : भवानीविक्रम सम्वाहाम्फे, सहसचिव : अनिल कोयी, कोषाध्यक्ष : मेचु धिमाल, सदस्यहरु:
दिनेश बान्तावा, सुमन राई, अमृता लिम्बू, विमला राई, कुशल थलङ, बबिना किराती, राज कार्की, लीला श्रेष्ठ , जितेन बान्तावा रहेका छन् भने एक जना मनोनित गर्न बाँकी ।

लोकसङ्गीतको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उद्देश्यले भएकाे उक्त भेलामा केही अग्रज वक्ताहरुले आ-आफ्नो विचार व्यक्त गरेका थिए । उक्त छलफल कार्यक्रममा प्राज्ञ तथा प्रसिद्ध गायिका सत्यकला राईले संस्थाको नाम “लोकजुवारी प्रतिष्ठान” राख्नु पर्ने सुझाउदै पूर्वेली भनेर क्षेत्रगत सीमान्तकृत नगर्दा राम्रो हुने विचार व्यक्त गरिन् । गीतकार शुभ मुकारुङले संस्था जन्मनु ठूलो कुरा होइन तर यसको निरन्तरताचाहिँ ठूलो कुरा हो भन्दै यसको निरन्तरतामा जोड दिए । यसैगरि सङ्गीतकार शान्तिराम राईले यस प्रकारको संस्था वा प्रतिष्ठानको अत्यन्तै ठूलो आवश्यकता भएको र यसका लागि आफू सधै सहयोग गर्न तत्पर रहेको विचार व्यक्त गरे । लोकगायक तथा सङगीतकार जितेन राईले एउटा सर्जकले सङ्कलन गरेका भाका वा शब्दहरु अर्काले चोर्ने गरेको बताउँदै त्यस प्रकारको कार्य गर्न नहुने बताए ।

प्रसिद्ध गायक तथा सङगीतकार शम्भु राईले यस प्रकारको संस्था आफूले २०५४ सालतिरै स्थापना गर्ने प्रयास गरेको तर सफल हुन नसके भन्दै ढिलै भए पनि यो संस्था खुल्न लागेकोमा धेरै खुसी लागेको बताए । उनले यस संस्थाको नाम पूर्वेली मात्र भनेर राख्दा राज्यबाट तथा अन्य सबैबाट सहयोग पाउन गाह्राे हुने विचार व्यक्त गरे । कार्यक्रमको अन्त्यमा संस्कृतिविद् डा.भक्त राईले यो अभियान आफैमा महत्त्वपूर्ण तथा आवश्यक भएको हुँदा यसका सफलताको लागि पूर्वी नेपालका सबै कलाकर्मी, लेखक, अन्वेषक लाग्नु पर्नेमा जोड दिए । यस्तो महान कार्यको सोच र सङ्कल्प लिएर यत्रो कार्यक्रमको आयोजना गर्ने कार्यक्रम संयोजक सङ्गीतकर्मी डी.आर अटु र सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गर्दै डा.राईले यो प्रतिष्ठान मार्फत हालको एक नम्बर प्रदेशमा रहेको गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरि जम्मा १३७ पालिका वा स्थानीय तहलाई समेट्दै ती पालिकाभित्र रहेका लोकसङगीत (लोकगीत, लोकवाद्य, लोकनृत्य, लोकनाटक आदि) को अध्ययन अनुसन्धान गरि ती सांस्कृतिक एवं साङ्गीतिक सम्पदाहरुलाई संरक्षण गरि त्यहाँका स्थानीय जनताका रोजगारी र आयआर्जनसँग जोडेर जनताको जीवनस्तरको समृद्धि गर्न सकिने बताए । यसका लागि एक नम्बर प्रदेशको १३७ ओटै पालिकामा सांस्कृतिक होमस्टे (घरबास) संचालन गरि लाखौँ स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकृष्ट गराएर हजारौ सर्जक, कलाकार तथा समुदायलाई समेत रोजगारी प्रदान गर्न सकिने सम्भावनाको जानकारी गराए । संस्कृतिविद् डा. राईले पूर्वी नेपालका लोकसङ्गीतको अध्ययन अनुसन्धान गरी विद्यालयको पाठ्यक्रम निर्माण गराइनुका अतिरिक्त ती सांस्कृतिक सम्पदाहरुबारे लोकसेवा आयोगको पाठ्यक्रममा समेत समावेश गराउनु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया