हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ। आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।
सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए। उनले अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि काम गरे। करिब छ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरे। उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको बताएका छन्।