
व्यस्त निर्देशकको सूचिमा पर्छन् उनी, सबैसँग समान व्यवहार र नाम जस्तै मिलनसार पनि छन् । उनी हुन् नेपाली रजतपटमा एक्सन, कमेडी, बायोपिक र लभस्टोरी धारका चलचित्र निर्देशन गर्न सफल दरिएका निर्देशक मिलन चाम्स । नेपाली कथानक चलचित्रहरू पश्चताप, हसिया, वीर विक्रम, ब्लाइन्ड रक्स लगायतको चलचित्र निर्माण तथा निर्देशन गरिसकेका छन् ।
कुनै पनि चलचित्र राम्रो बन्नलाई निर्देशक एक्लैको मात्र प्रयासले नहुनेृ बताउने उनी फिल्म राम्रो बन्नलाई सिंगो टिमको हात हुने सुझाउँछन् । यसै वर्ष मात्र एकसाथ ३ वटा चलचित्रहरु ब्लाइन्ड रक्स, बोबी, ह्याप्पीडेज र लिली बिली निर्देशन गर्न भ्याए । ब्लाइन्ड रक्स प्रदर्शन भइसकेको छ भने चाम्सद्वारा निर्देशित नेपाली कथानक चलचित्र ह्याप्पी डेज, बोबी रिलिजको तयारीमा छ । ‘लिली बिली’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । प्रस्तुत छ निर्देशक चाम्ससँग सोही चलचित्रको विषयमा गरिएको फिल्मी संवाद ः–
लिली बिली कस्तो चलचित्र हो ?
खासमा लिली बिली मनोरञ्नको लागि बनाएको चलचित्र हो । यसमा पूर्णतः मनोरञ्जनात्मक प्याकेज छ यसले समाजै परिवर्तन गर्ने भन्ने त्यस्तो केही पनि छैन । खाली आँखालाई हेर्दा सितलता प्रदान गर्छ । एउटा माया गर्नेहरुको लागि चाहिँ पृथक् कथा हुनसक्छ । तर, के चाहिँ हो भने नेपाली दर्शकहरुले गर्व गर्न लायकको फिल्म बनेको छ ।
तपाई एक्सन चलचित्रहरु निर्माण गर्दै अघि बढ्नुभएको थियो, हाल लभस्टोरी चलचित्रहरु निर्देशन गरिरहनुभएको छ ? धार परिवर्तन गर्नुभएको हो ?
त्यस्तो हैन । अब निर्देशक भइसकेपछि सबै किसिमको फिल्म निर्देशन गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ । जस्तै कुनै पनि कलाकारले सबै किसिमको अभिनय गर्न सक्नुपर्छ भन्ने मान्यता छ नि । पहिले मैले एक्सन चलचित्र गरे त्यतिबेला मलाई ट्याग लागेकै हो । सोही ट्यागलाई मेटाउन पनि मैले सबै किसिमको चलचित्र निर्माण गर्नुपर्छ भन्ने लागेर नै अहिले काम गरिरहेको छु ।
‘लिली बिली’ एकदमै रिच चलचित्र बनेको छ, फिल्मले नेपाली दर्शकहरुको मायाले मात्र आर्थिक रुपमा सवल र लगानी सुरक्षित गर्छ त ?
अहिले देखिएको नेपाली दर्शकहरूको जुन किसिमको उत्साह अनि हलको बुकिङको हिसावले यस चलचित्रले आर्थिक रुपमा सफलता हात पार्छ भन्ने मलाई लागेको छ । तर, अब दर्शकहरुले मन पराउने नपराउने भन्ने विषयमा चाहिँ एकिन भन्न सकिन्न । तर, यति चाहिं हो दर्शकहरुले यस्तो किसिमको फिल्म पनि नेपाली फिल्म मेकरहरुले गर्न सक्दो रहेछ भन्ने सोच्न र मनन गर्न बाध्य हुनेछन् । त्यसैले हाम्रो फिल्मले दर्शकहरुको अपार माया पाउनेमा म विश्वस्त छु ।
यस वर्ष चार वटा चलचित्र ल्याउनुभयो, यसो गर्दा निर्देशकीय पक्ष अलि खस्किने सम्भावना हुदैन ?
मेरो सवालमा त्यस्तो हुन्न । गाह्रो त हो मेकिङको हिसावले धेरै चलचित्र एकसाथ गर्दा । तर, फिल्म मेकिङ भनेको एक्लैको दिमाग र बलबुतोले हुन्न भन्ने मलाई लाग्छ । त्यसैले फिल्म मेकिङ भनेको टिमवर्क हो भन्छु म चाहिँ । र मैले एकसाथ ४ वटा चलचित्रको काम गर्दा नि त्यति धेरै तनाव महसुस हुन्न मलाई । म यही रफ्तारमा काम गर्न सक्छुु । भोलिको दिनमा यति धेरै त होइन २÷४ वटा जति चलचित्रको काम एकसाथै काम गर्नेछु ।
आगामी दिनमा कस्तो चलचित्रहरु निर्माण÷निर्देशन गर्दै हुनुहुन्छ ?
अबको मेरो कामहरु भनेको गरिरहेको चलचित्रहरु भन्दा राम्रो गरु भन्ने नै हो । अब छिट्टै नै विदेशको प्रोजेक्ट गर्दैछु । अनि वीर विक्रम २ भैहाल्यो । नेपालको वीर गोर्खाली, सगरमाथा र भगवान गौतम बुद्ध यो तीन वटालाई छुवाएर एउटा बिग बजेटको चलचित्र निर्माण गर्दैछु । यसको होमवर्क गरेको पनि लगभग १९ महिना भैसक्यो । अहिले हामी त्यसको पनि प्रि प्रोडक्सनमा नै छौं । यसमा चाहिँ प्रायः सबै कलाकारहरु र टेक्निसियनहरु बाहिर कै हुनेछन् । यो चाहिँ मेरो ड्रिम प्रोजेक्ट पनि हो ।
र अन्त्यमा …?
यस पूुर्वेली न्यूजबाट पूर्वमा रहनुभएका सम्पूर्ण दर्शकहरुलाई एक पटक लिली बिली चलचित्र हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध छ । म पनि पूर्वेली नै भएको हिसावले एउटा पूर्वेलीले बनाएको चलचित्रलाई माया गरिदिनुहोस् भन्न चाहन्छु । भावी दिनमा हामी सबै मिलेर पूर्वमा राम्रो चलचित्रहरु निर्माण हुन्छन् भन्ने प्रुभ गर्नुपर्छ भन्ने सोच बोकेको छु । भारतमा साउथको फिल्महरु राम्रो हुन्छ भन्ने कुरा पुष्टी भए जस्तै । नेपाली चलचित्रको जय होस् । धन्यवाद । प्रस्तुति : सन्तोष राई