पाकिस्तानमा नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न ।

नेपालको कला, र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली राजदूतावास इस्लामाबादद्वारा इस्लामाबादस्थित पाकिस्तान नेशनल काउन्सिल अफ आर्टस् (PNCA) सँगको सहकार्यमा “नेपाली साङ्गितिक साँझ २०१७” को आयोजना गरियो । नेपाल पाकिस्तान कूटनीतिक सम्बन्ध स्थापनाको ५७ वर्ष पुरा भएको उपलक्ष्यमा PNCA को अडोटोरियममा आयोजित उक्त कार्यक्रममा वरीष्ठ गायक आनन्द कार्की तथा प्राश्‍ना शाक्यले नेपाली तथा उर्दू गीतहरु गाउनु भएको थियो भने पाकिस्तानी कलाकारहरुद्वारा नेपाली नृत्य, गायन तथा सङ्गीत प्रस्तुत गरिएको थियो ।

 

पाकिस्तानी परराष्ट्र मन्त्री महामहिम सरताज अजिजको प्रमुख आतिथ्यमा सञ्‍चालित उक्त कार्यक्रममा बोल्दै पाकिस्तानका लागि नेपाली राजदूत म.म. श्री सेवा लम्साल अधिकारीले नेपाल पाकिस्तान बीचको द्विपक्षीय सम्बन्धको चर्चा गर्नुहुँदै कला र साँस्कृतिका धनी दुर्इ मुलुकहरु बीच साँस्कृतिक आदान -प्रदान हुनु महत्वपूर्ण हुने बताउनुभयो । वहाँले नेपालको कला, सँस्कृति तथा संगीत बारेमा संक्षिप्त रुपमा प्रकाश पार्नुका साथै यस प्रकारको कार्यक्रमले एक अर्का मुलुकको सँस्कृति वुझ्न र अनुभव गर्न मद्दत पुर्‍याउने भएकोले दूतावासले साङ्गितिक कार्यक्रमको आयोजना गरेको वताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि म.म. सरताज अजिजले नेपाल तथा पाकिस्तान दुई असल छिमेकी रही आएको चर्चा गर्नुभयो ।नेपाली दूतावासले गरेको प्रयास सकारात्मक र उदाहरणीय रहेको उहाँले यस्ता कार्यक्रमले दुर्इ मुलुकबीच रहेको सुमधुर सम्बन्धमा व्यापकता ल्याउने बताउनुभयो । कार्यक्रममा संसद सदस्यहरु पूर्व मन्त्रीहरु, पूर्व प्रधान न्यायधीश, व्यवसायी, इस्लामाबादस्थित विदेशी नियोगका प्रमुखहरु, पत्रकारहरु लगायत अन्य लब्ध प्रतिष्ठित व्यक्तिहरुको वाक्लो उपस्थिति रहेको थियो ।

 

साथै उक्त कार्यक्रममा इस्लामाबादस्थित संयुक्त राष्ट्र संघ लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपालीहरु तथा विभिन्न विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समेत उपस्थिति थियो । यसैबीच दूतावासकै आयोजनामा पकिस्तानको सांस्कृतिक सहर मानिने लाहोरमा पनि यस्तै सांस्कृतिक कार्यक्रम आयोजना गरिने दूतावासले जनाएको छ। प्रेषक:- नेपाली राजदूतावास इस्लामाबादको सहयोगमा शिरोमणि दवाडी,काठमाडौ

तपाईको प्रतिक्रिया