सलमानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गर्ने ओडीसी इन्टरटेनमेन्टका प्रबन्धक सिमान्त गुरुङ भएको खुल्यो

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङ ठूलो नटवरलाल भएको खुलेको छ । गुरुङको उद्देश्य नै ठगी गरेर मोजमस्ती गर्ने रहेको उनकै क्रियाकलापबाट खुलेको हो । महानगरीय अपराध महाशाखाको टोलीले दुई साता अघि लाजिम्पाटबाट गुरुङलाई पक्राउ गरेको थियो । गुरुङ विरुद्ध ठगी र बैंकिङ कसुरमा मुद्दा चल्ने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

गुरुङलाई टिकटको पैसा फिर्ता नगरेको, साझेदारसँग सल्लाह नगरेर रकम दुरुपयोग गरेको र रकम नै नभएको चेक दिएर ठगी गरेको आधारमा पक्राउ गरिएको थियो । स्रोतका अनुसार गुरुङलाई उनका मित सहसचिब शोभाकान्त पौडेलले गोर्खा ब्रुअरीसँग चिनजान गराएर झन्डै दुई करोड रकम दिलाएका थिए ।

गोर्खा बु्रअरीले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्यअभिवृद्धि कर (भ्याट)सहितको ९१ करोड रुपैयाँ राजस्व छलि गर्न उनै पौडेललाई ठूला करदाता कार्यालयमा छँदा सहयोग गरेका थिए । त्यसपछि पौडेल र गोर्खा ब्रुअरीबीचको सम्बन्ध निकट बनेको थियो । पौडेलले नै गोर्खा ब्रुअरीलाई ‘दबङ द टुर’ नामक सांगीतिक कार्यक्रमको प्रायोजक बनाउन लगाएका थिए । पौडेलकै विश्वासको आधारमा गोर्खा ब्रुअरीले स्पोन्सर गरेर उक्त रकम दिएको थियो ।

पौडेल उनै व्यक्ति हुन्, जसले अर्बौँको कर विवादमा फसेको एनसेलका तीन विदेशी कर्मचारीलाई सेटिङ मिलाएर सडक मार्गबाट भारत हुँदै आफ्नो देशतर्फ भगाएका थिए । पौडेल ठूला करदाताको प्रमुख छँदा आन्तरिक राजाश्व बिभागमा चुडामणी शर्मा महानिर्देशक थिए । पौडेल र शर्माले त्यतिखेर एनसेलसँग मिलेर कर मिनाहा गराउन ठूलो भूमिका खेलेका थिए ।

यस अघि भन्सार भिभागमा डिजी रहेका पौडेललाई यस्तै बिबादास्पद काम गरेका कारण अर्थमन्त्रीले जगेडामा राखेका थिए । तर, नेकपाका नेताहरुलाई चाकडी गरेकै कारण पौडेललाई पूर्वाञ्चलस्थित लोकसेवा आयोगको कार्यालय धनकुटाको प्रमुख बनाएर पठाइएको छ ।

पौडेलसँगको उठबसका कारण गुरुङले धेरैलाई ठगी गर्न सफल भएका छन् । सलमानलाई चन्द्रागिरी लैजाने नाममा गुरुङले चन्द्रागिरी केबुलकारबाट १५ लाख लिएको प्रहरी स्रोतले बतायो । त्यस्तै ग्लोबल आईएमइ बैंकले ५० लाख दिए पनि उजुरी भने हालेको छैन । गुरुङले सलमानलाई ल्याउने नाममा विभिन्न संस्था र व्यक्तिहरुबाट करिब ३ करोड रकम ठगेको खुलेको छ । उनले सलमानलाई पैसा पठाएको बताए पनि त्यसको पुष्टि भने भएको छैन ।

नेपालमा सलमान खानलगायत कलाकारलाई ल्याउने भनेर लाखौंको टिकट बिक्री गरिएको भए पनि अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै सलमान नेपाल आएका छैनन् । सलमान केही समयपछि आउने भन्दै गुरुङले त्यो बेला बिक्री गरिएका टिकटको रकम फिर्ता गरेका छैनन् । सुरुमा फागुन २६ गते, त्यसपछि वैशाखमा र जेठ १२ गते ‘दबङ द टुर’ अन्तर्गत सिमान्तले सलमानलाई नेपाल ल्याउने बताएका थिए । तर, उक्त मितिमा पनि उनले सलमानलाई ल्याउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुरुमा विप्लव माओवादीले नेपाल नआउन आग्रह गर्दै सोही दिन बन्दको घोषणा गरेपछि उनी नेपाल आउने कार्यक्रम स्थगित भएको थियो । सिमान्तले दबङ द टुरका लागि ३ हजारदेखि २० हजारसम्मको टिकट बिक्री गरेका थिए । यसअघि १३ मार्च २०१३ मा ‘दीप पर्पल लाईभ ईन नेपाल’ नामक कार्यक्रम गर्ने भन्दै ओडीसीले ५ सयदेखि दश हजारसम्मका टिकट बिक्री गरी ठगी गरेको थियो । न्यूज२४नेपालबाट

तपाईको प्रतिक्रिया