‘श्वेताश्री फाउन्डेसन’को बर्षदिन पूरा, हेर्नुस् श्वेताले स्टटसमा पोखिन् मनको कुरा

टहरी/ नेपाली सिनेमा घरहरुमा श्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’ प्रदर्शनरत छ । यता सामाजिक कार्यमा पनि पाईला चालेकी उनको ‘श्वेता श्री फाउन्डेसन’ को आज पहिलो बर्ष पूरा भएको छ । आफ्नो पति श्री कृष्ण श्रेष्ठको स्मृतिमा स्वर्गीय पति संगै आफ्नो नाम जोडेर सामाजिक बिकासका निमित्त श्वेताले यो फाउन्डेसनको स्थापना गरेकी हुन् ।

यसै अनुरुप ‘श्वेताश्री फाउन्डेसन’ बाट माझी बस्ती निर्माणको कार्य तिब्र रुपमा अघि बढिरहेको छ । भुकम्प बाट पिडित भएका ५६ परिवारका लागि उनले यो बस्तिको निर्माण गरिरहेकी छिन् । यस्तै आजकै दिनमा श्वेताश्री फाउन्डेसनका बरिस्ठ सल्लाहकार तथा एकीकृत नमुना माझी बस्ति बिकासका लागि सुरुवाती दिनहरुबाटै लागिपरेका ‘रबिन्द्र खड्का’ को पनि जन्मदिन परेको छ । यहि मौकामा श्वेताले आफ्नो फाउन्डेसनको फेसबुक आईडिमा लामो स्टाटस लेखेकी छिन् । हेर्नुस् उनले यस्तो लेखेकी छिन् ।

आज, श्वेता श्री फाउण्डेशन को जन्म दिन । सामाजिक क्षेत्रमा सानै भए पनि योगदान दिउँ भन्ने मेरो सोचले संस्थागत रुपमा आकार पाएको दिन । मेरा दिवंगत पतीको स्मृतीमा उहाँको नामसंगै आफ्नो नाम जोडेर सामाजिक बिकासका निमित्त बिधानसंवत पहिलो पाहिला चालेको दिन ।

म, काभ्रेकी छोरी अनि सिन्धुपाल्चोक की बुहारी । रातो सिन्दुरले सिउँदो रङ्गिएको महिना दिन नबित्दै पखालिएको मेरो सिउँदोको पिंडालाई आँशुका भेलले धोएर जीवनको यात्रामा अगाडी बढ्नु नै थियो , बढें । पिंडालाई त आँशुसंगै छताछुल्ल पारेर बगाईदिएँ तर यादहरुलाई मेटाउनु कसोरी । अत्: मैले बिगतका यादहरुलाई शक्ती को रुपमा ग्रहण गर्दै मेरा स्वर्गिय पतिलाई आफ्नो मन मस्तिस्कमा मात्र होईन सामाजिक रुपमा पनि जिउँदो राख्नका लागी केहि सामाजिक योगदान दिने सोच थियो । त्यो सोच माझी बस्तिमा गएर मिसियो । भुकम्पबाट पीडित ५६ घर माझी परिवारको लागी एउटा नमुना बस्ती बनाएर आफुले गुमाएको प्यारो मान्छेलाई जीवन्त तुल्याउने अठोट गरे । त्यही अठोटले श्वेताश्री फाउण्डेशन जन्मायो । माझिटोलकै लागी जन्मेको यस फाउन्डेशन ले माझी टोल लाईनै बनाउनेछ, सजाउने छ र सिङ्गार्ने छ । आफ्नो संस्थागत उद्देश्य बमोजिम श्वेताश्री फाउण्डेशन ले माझी टोल बनाउदै आईरहेको छ । निर्माणको काम तिब्रगतिमा चलिरहेको छ ।

मान्छेहरु “माझी बस्ती कहिले हस्तान्तरण गर्ने ?” भनेर सोध्छन । म यो प्रश्नमा खोट देख्छु । किनकी माझिटोल मैले जन्माएको एउटा सानो बालक हो जस्लाई म कहिल्यै,कसैको हातमा सुम्पन या हस्तान्तरण गर्न सक्दिन । एउटा आमाको जिम्मेवारी जे हुन्छ त्यसैगरी उचित स्याहार सुसार गर्छु, हुर्काउछु , बढाउँछु, सिगार्छु र एउटा स्वावलम्बी बस्ती को रुपमा खडा गराउँछु ।

मलाई थाहा छ, जब म घुम्टो ओडेर घरको चार पर्खाल भित्र लुकेर बस्छु तब कोही कसैले वास्ता गर्दैनन तर जब म लाज, सरम र हिनताको घुम्टो फालेर घरबाहिर निस्कन्छु तब मप्रती आईलाग्ने र जाईलाग्ने धेरै भेटिन्छन । मलाई थाहा छ , गर्नेहरु र लड्नेहरुलाईनै हो समस्या आउने । म हरेक समस्यासँग जुध्न तयार छु । एकिकृत नमुना माझी बस्ती को निर्माण को यो अभियान मा पनि धेरै चुनौती र निक्कै समस्याहरु छन । ति चुनौतिहररुलाई आत्मसाथ गर्दै र समस्याहरु संग जुध्दै अगाडी बढ्दै आएकी छु र बढ्छु पनि । मेरो यो यात्रामा _मलाई साथ दिने सहयोगिहरुको भिड ठुलो छ ।

म धन्यवाद दिन चाहन्छु माझिटोलका ति हिम्मतिला, जोशिला र शाहसिला युवा मित्रहरुलाई जस्ले माझिटोल निर्माण को यो अभियानमा अग्रपङ्तिमा उभिनु भएको छ । म,मेरा फाउन्डेशन का पदाधिकारी ज्युहरु प्रती नतमस्तक छु, जस्ले म संगसँगै पाईला हालेर सहकर्मी को भूमिका निर्वाह गरिरहनु भएको छ । म कृतज्ञ छु ति सहयोगी संघसंस्था र मनकारी ब्यक्तिहरु प्रती जस्ले माझी टोल बिकास का लागी आर्थीक , भौतिक र नैतिक समर्थन गर्दै आउनु भएको छ । अनि मुरी मुरी धन्यवाद मेरा संचारकर्मी मित्रहरु प्रती जस्ले मेरो हर अभियानलाई शब्द र द्रुश्यका मार्फत आम जनताहरु समक्ष फैलाएर माझिटोल बिकासमा अमुल्य योगदान दिदै आउनु भएको छ । एउटा सुन्दर, बिकसित र समृद्द बस्तिको बिकास गर्ने मेरो यो सानो प्रयासमा तपाईहरु सबैको सहयोग, समन्वय र सहकार्यको अत्यन्त जरुरी छ । आशा छ , म एक्ली हुने छैन । हिजोको दिनमा जस्तै तपाईहरुको हात र साथ पाउनेनै छु ।
धन्यवाद । – श्वेता खड्का-अध्यक्ष

PURBELI TV

तपाईको प्रतिक्रिया