लोक नृत्यमा लिटल र साधुकुटी प्रथम

बिर्तामोड / लोक नृत्यको संरक्षण गर्दै विद्यार्थीलाई लोक नृत्यका विषयमा जानकारी दिन राजगढ श्रोत केन्द्रले श्रोत केन्द्रस्तरीय लोक नृत्य प्रतियोगीता सम्पन्न गरेको छ । जसमा सिनियर तर्फ लिटलस्टार इंलिस स्कूल राजगढ प्रथम भएको छ भने जुनियर तर्फ साधुकुटी अंग्रेजी स्कूल प्रथम भएको छ । २८ विद्यालयले सहभागीता जनाएको सो प्रतियोगीतामा सिनियर तर्फ नमूना इंलिस स्कूल दोस्रो र दिब्य ज्योति मावि राजगढ तथा दीपजन मावि डाँगीवारी तेस्रो भएका थिए । जुनियर तर्फ भने घोडामारा आधारभूत दोस्रो र साधुपर्ती प्रावि तस्रो भएका थिए ।

सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालले स्वगत गरेका थिए । दीपजन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलकान्त गिरीको सभापतित्वमा भएको कार्यक्रममा वाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्ना राजवंशीले लोक संस्कृति संरक्षणमा विद्यालयले विद्यालय स्तरबाटै कार्यक्रम आयोजना गर्नु र विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनु राम्रो भएको बताएकी छिन् । उनले यसखाले कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत प्रतिभा समेत प्रस्फुटन हुने धारणा राखिन् ।

स्रोत व्यक्ति छवि वस्नेतले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन गौरीशंकर माविका शिक्षक लोचन गुरागाई र अमरावती राजवंशीले गरेका थिए । सो अवसरमा दीपजनका विद्यार्थीले स्वगत नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…