मृत्युसंग लडिरहेका फराज खानलाई सलमानले दिए अस्पताल खर्च

मुम्बइ / बलिउड अभिनेता फराज खान बेङ्गलुरुको एक अस्पतालमा जिन्दगी र मृत्युसँग लडिरहेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर छ । फराजलाई ब्रेन इनफेक्शन र निमोनिया भएको छ । बलिउड सुपरस्टार सलमान खान, फराजलाई मद्दत गर्नका लागि अगाडि आएका छन् । उनले फराजको अस्पताल खर्च तिरिदिएका छन् । अभिनेत्री कश्मीरा शाहले यसको जानकारी दिएकी हुन् ।

कश्मीरा शाहले लेखेकी छन्, ‘तपाईं वास्तवमै महान व्यक्ति हुनुहुन्छ, सलमान खान । फराज खानको रेखदेख गर्न र उहाँको मेडिकल बिलका लागि धन्यवाद । एक्टर फराज खान क्रिटिकल कन्डिसनमा हुनुहुन्छ र सलमान खान उहाँको साथमा हुनुहुन्छ ।’ कश्मीराले बलिउड इन्डस्ट्रीमा आफूले चिनेका व्यक्तिहरुभन्दा सबैभन्दा राम्रो व्यक्ति सलमान खान रहेको पनि बताएकी छन् ।

फराज, कलाकार यूसुफ खानका छोरा हुन् । ९० को दशकमा फराजले केही चलचित्रमा काम गरेका थिए । उनले ‘फरेब, पृथ्वी, लभ स्टोरी ९८, दुल्हन बनूं मैं तेरी, दिल ने फिर याद किया, चांद बुझ गया’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो केही वर्षयता उनी अभिनयमा सक्रिय छैनन् । अहिले बलिउडकर्मीहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया