मिस लिम्बूको पाँचौं संस्करण सुरू

काठमाडौं । लिम्बू समुदायका युवतिहरुको व्यक्तित्व विकास र संस्कार संस्कृतिप्रति सजग र जागरुक गराउने उद्देश्यले सुरु भएको मिस लिम्बूको पाँचौं संस्करण ‘सिंगापुर इन्टरप्राईजेज मिस लिम्बु ५’का प्रतिष्पर्धीहरुले आफुमा भएका प्रतिभा प्रस्तुत गरेका छन् ।काठमाडौंको हात्तिसारस्थित नर्भिक बिजनेस कलेजमा शुक्रबार आयोजीत ट्यालेन्ट शोमा उनिहरुले नृत्य, अभिनय, पेन्टिङ, मन्तव्य लगायतको प्रस्तुति प्रदर्शन गरेका थिए ।

१४ प्रतिष्पर्धीको प्रतिभा प्रदर्शन कार्यक्रममा भाषाविद् यासेली योङहाङ, अध्यापक तारामान रावल, पत्रकार गोपाल दाहाल, मोडल विपना थापा, जुम्बा इन्स्ट्रक्टर दिलिप साउद र गायक रुकमान लिम्बु निर्णायक रहेका थिए ।यसपटकको मिस लिम्बुमा नुमा कुरुम्बाङ, अविसा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयाङ्गु, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेवे, सवनम साँवा, रमुना थेवे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाङ्फे सहभागी छन् ।

उनिहरुलाई कोरियोग्राफर कला सुब्बाले तालिम दिईरहेकी छिन् । याक्थुङ युथ एसोसिएसनको आयोजनामा भएको कार्यक्रमको संयोजकमा गायक भीम लिम्बु र मोडल तथा समाजसेवी याङजोम शेर्पा रहेका छन् । मंसीर ४ गते सोमबार फाइनल हुने मिस लिम्बूका विजेताले नगद १ लाख, फस्टरनरअपले ५० हजार र सेकेन्डरनरअपले २५ हजारसहित विभिन्न उपहारहरु प्राप्त गर्ने एसोसिएसनका अध्यक्ष विश्व लिम्बु साम्याङखामले बताए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया