भिएस कलेजले ‘एसईई अनलाइन तीज डान्स प्रतियोगिता’ आयोजना गर्दै

काठमाडौँ / काठमाडौँ स्थित चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भिएस कलेज) ले महिलाहरुको महान पर्व तीजको अवसरमा एसईई अनलाइन तीज डान्स प्रतियोगिता गर्ने भएको छ । नेपाली कला र संस्कृतिको उत्थानका लागि एसईई अनलाइन तीज डान्स प्रतियोगिता आयोजना गर्न लागिएको कलेज बताएकाे छ । गत वर्षको कार्यक्रमलाई निरन्तरता दिएकाे कलेजले कार्यक्रमलाई दुई समुहमा विभाजन गरेको छ । पहिलो समुहमा हाल एसईई दिएर बसेका छात्राहरुले मात्र सहभागिता जनाउनेछन् । साथै दोश्रो समुहमा हाल विनायक सिद्ध कलेजमा प्लस टु तथा ब्याचलर तह अध्ययनरत छात्राहरुले मात्र सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताबाट प्रथम छात्राले नगद ५ हजार, अध्ययनका लागि १००% छात्रवृद्धि र प्रमाण–पत्र प्राप्त गर्ने छन् । भने द्धितीय हुने छात्रालाई नगद ३ हजार, ७५% छात्रवृद्धि र प्रमाण–पत्र र तृतीय हुने छात्रालाई नगद २ हजार, ५०% छात्रवृद्धि र प्रमाण–पत्र प्रदान गरिनेछ । निर्णायक मण्डलको भुमिकामा बरिष्ट नृत्य निर्देशक तथा बज्रयोगिनी म्युजिक तथा डान्स एकेडेमीका निर्देशक महेश गोदार, नृत्य निर्देशक तथा डि. डान्स भक्तपुरका सचिव चुडामणि फुयाल र नृत्य निर्देशक दक्षिणा लामा हुने कलेज प्रशासनले जनाएको छ ।

प्रतियोगितामा देशभरबाट एसईईमा सहभागि भएका छात्राहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुनका लागि विनायक सिद्ध कलेजको फेसबुक पेज लाईक गरि पोष्ट गरिएको गुगल फर्मको लिंकमा क्लिक गरि फर्म समिट गर्नु पर्नेछ । सो पश्चात कम्तिामा २ देखि ३ मिनेटसम्मको तीज गीत नृत्य भिडियो कलेजको ईमेल मार्फत भाद्र ३ गतेसम्म पठाउनु पर्ने जनाइएकाे छ । कार्यक्रममा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७७/७८ को नयाँ भर्नाको मासिक शुल्क बाहेक सम्पूर्ण शुल्कमा ७५% छुट हुनुको साथै सहभागीहरुलाई सहभागीताको प्रमाण–पत्र प्रदान गरिने क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया