बोल्ड अवतारमा एलिशा शर्मा, ठुम्का लगाउदै आर्यन सिग्देल संग (भिडियो सहित)

ईटहरी/ फरक धारका चलचित्र बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेन भुटिया निर्देशित चलचित्र ‘च च हुई’ को आइटम गीत सार्वजनिक भएको छ । ‘जवानी’ बोलको गीतमा चलचित्रका प्रमुख अभिनेता आर्यन सिग्देल र ‘चिँ मुसी चिँ’ फेम्ड अभिनेत्री तथा अहिलेकी चर्चित मोडल एलिशा शर्मा फिचर्ड छन् । गीतमा एलिसालाई बोल्ड अवतारमा देख्न सकिन्छ । उनको जवानी देखेर आर्यन लोभिएका छन् ।

बालाजुस्थित एनएफडिसीमा भब्य सेट निर्माण गरेर खिचिएको गीतमा शिशिर खातीको कोरियोग्राफी छ । गीतमा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको छ । भने, रोशन थापाको संगीत छ । रोशनलाई गायनमा सुमन गुरुङले साथ दिएकी छन् । यो गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक भुटिया बताउँछन् ।

यो चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही चलचित्रमार्फत् निर्माणमा आएका हुन् । चलचित्रमा आर्यनका अलावा मिरुना मगर, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक स्वयं हुन् ।

मंसिर ६ गते प्रदर्शन हुने चलचित्रका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । भने, श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन छ । निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल चलचित्र बनाउने प्रयत्न गरेको बताए । अभिनेता आर्यन र अभिनेत्री मिरुनाले चलचित्र राम्रो बनेको बताए । दुबै चलचित्रलाई लिएर उत्साहित छन् ।

तपाईको प्रतिक्रिया

Loading…