फिल्म ‘झ्यानाकुटी २’ मा सौगात र बेनिशा दोहोरिने पक्का

अभिनेत्री निशा अधिकारीले २०७४ सालमा निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ को दोस्रो सिरिज निर्माण हुने भएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको बैबाहिक जीवनमा उत्पन्न हुने समस्यामा केन्द्रित रहेको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका थिए । यतिबेला निर्माण टिम दोस्रो पार्टको तयारीमा जुटेको छ । लेखक प्रदीप भारद्धाजले फिल्मको स्क्रिप्ट तयार पारिसकेका छन् । तर, निर्माण टिमबीच चलचित्रको सिक्वेल बनाउने वा प्रिक्वेल भन्ने विषयमा छलफल भइरहेको छ ।

निर्देशक सुनुवार भन्छन्, ‘अहिले हामी सिक्वेल बनाउने वा प्रिक्वेल भन्ने विषयमा छलफल गरिरहेका छौं । लेखक प्रदीपजीले सिक्वेलका लागि स्क्रिप्ट तयार पार्नुभएको छ । म चाहिँ प्रिक्वेल बनाउने पक्षमा छु । सौगात र बेनिशाको विवाह अगाडिको कथा भन्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।’

सुपरहिट नभएको चलचित्रको दोस्रो सिरिज बनाउने जोखिम किन उठाउन लाग्नुभएको ? भन्ने प्रश्नमा निर्देशक सिमोस भन्छन्, ‘हो, चलचित्रको इनिसियल व्यापार राम्रो भएन । अरु चलचित्र जस्तो सुपरहिट पनि भएन । तर, चलचित्रको कमाईबाट हामी सन्तुष्ट छौं । चलचित्र ५ हप्तासम्म हलमा चलेको थियो । म स्वयंलाई पनि चलचित्र मन परेको थियो । दर्शकहरुले पनि रुचाउनुभएको थियो ।’

चलचित्रको सिक्वेल वा प्रिक्वेल जुन बने पनि सौगात र बेनिशा नै दोहोरिने निर्देशक सुनुवारको भनाई छ । लेखक प्रदीप भारद्धाज आफूले लेखेका स्क्रिप्टमा बनेका चलचित्रमध्ये ‘झ्यानाकुटी’ बाट सबैभन्दा सन्तुष्ट रहेको बताउँछन् । उनी स्वयंले यो चलचित्रको सिक्वेलको इच्छा देखाएका थिए ।

तपाईको प्रतिक्रिया