फिल्म ‘छक्का पन्जा-४’ ३ करोड लगानीमा बन्दै, छायांकनको लागि १ वर्ष लाग्ने

काठमाडौं/ नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यापार गर्ने चलचित्र ‘छक्का पञ्जा’ सिरिज नै अग्र स्थानमा छ । जब ‘छक्का पञ्जा’ ब्लकबस्टर्ड भयो त्यसपछि यो नामलाई ब्रान्ड बनाइ भाग २ र भाग ३ पनि निर्माण भयो ।

हास्य कलाकार दीपकराज गिरी, केदार प्रसाद घिमिरे (माग्ने बुढो), जितु नेपाल (मुन्द्रे), बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत र अन्य कलाकारहरुको बेजोड अभिनय रहेको यो सिरिजलाई दर्शकहरुले एकदम रुचाए ।

यो सिरिजले चर्चा निकै पायो भने आलोचना र विवादमा पनि मुछिनु पर्‍यो । तर, आलोचना र विवादको बावजुद पनि दर्शकहरुबाट अथाह माया र साथ पाएको यो सिरिज बढेर अब ‘छक्का पञ्जा ४’ पनि निर्माण हुने भएको छ । चलचित्र ‘छक्का पन्जा ४’ निर्माणका लागि ३ करोड भन्दा बढी बजेट लाग्ने कलाकार, निर्माता तथा लेखक दिपकराज गिरीले बताएका छन् ।

निर्माता गिरीका अनुसार, यो चलचित्र छायांकनका लागि १ वर्ष लाग्नेछ । चलचित्रलाई विभिन्न समयमा छायांकन गर्नुपर्ने भएकाले पनि १ वर्ष लाग्ने भएको हो । फरक फरक परिवेशमा चलचित्र छायांकन गर्नुपर्ने भएकाले पनि १ वर्ष लाग्ने दिपकले बताएका हुन् । यो चलचित्रलाई पनि दीपाश्री निरौलाले नै निर्देशन गर्दै छिन् ।

तपाईको प्रतिक्रिया