पुर्वमा ‘फिल्म मेकिङ्ग वर्कशप’ हुने

ईटहरी/ नेपालको परिवेशमा हेर्ने हो भने पछिल्लो समय फिल्म निर्माण देखि लिएर सर्ट मुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाब निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी प्लेटफर्मले त गुणस्तरिय भिडियो निर्माणमा युवापुस्तालाई जागरिलो बनाएको देखिन्छ । यस्तै जोशिलो युवापुस्तालाई मध्यनजर गरेर काठमाण्डौमा स्थापना भएको कान्तिपुर फिल्म एकेडेमीले पुर्वमा पनि फिल्म मेकिङ्ग सम्बन्धि बिशेष कार्यशाला चलाउने भएको छ ।

पुर्वमा यस्तो खालको वर्कसप पहिलो पटक हुन लागेको हो । उक्त एकेडेमीको आयोजनामा पूर्वको दुइ ठुला अनि मुख्य शहर इटहरी र बिर्तामोडमा फिल्म मेकिङ्ग सम्बन्धि वर्कशप चलाईने भएको हो । ‘चलचित्र निर्माण सम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्म मेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले’ यो वर्कशपको आयोजना गरिएको एकेडेमिका संचालक प्रकाश पुरीले जानकारी गराए ।

यहि श्रावन २७ गतेदेखि भाद्र १ गतेसम्म बिर्तामोडमा बिशेष कार्यशाला हुनेछ भने त्यस लगत्तै भाद्र ३ गतेदेखि ८ गते सम्म पूर्वको सुन्दर सहर इटहरीमा कान्तिपुर फिल्म एकेडेमीले फिल्म मेकिङ्ग वर्कशप गर्नेछ । उक्त वर्कशप साताको आइतबार देखि शुक्रबार सम्म ६ दिन संचालन हुने छ । फिल्म मेकिङ्ग सम्बन्धि प्राक्टिकललाई बिशेष ध्यानमा राखेर गरिने वर्कशप हरेक दिनको बिहान १० बजेदेखि साझ ५ बजे सम्म संचालन हुनेछ । काठमाडौबाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् टेक्निकल सामग्रीहरू ल्याई वर्कशप सञ्चालन गरिने छ । ‘सो वर्कशपबाट मोफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरूलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्‍याउनेछ ।’ कुरामा ढुक्क छन् पुरी ।

वर्कशप ईटहरी र बिर्तामोड संगै हेटौँडामा भदौ १० गतेदेखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ गते देखि २२ गतेसम्म, पोखरामा भदौ २४ गतेदेखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म र नेपालगन्जमा असोज ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया