धरान नेशनल एकेडेमीकी सुष्मा बनिन् मिस तामाङ प्रदेश १ को फस्ट रनर अप

धरान । नेशनल एकेडेमी धरानकी छात्रा सुष्मा तामाङ मिस तामाङ प्रदेश नं. १ स्पर्धामा फस्ट रनर अप घोषित भएकी छिन् । शनिबार राति धनकुटाको हिलेमा सम्पन्न फाइनल स्पर्धामा सुष्माले उक्त उपाधी जितेकी हुन् । विभिन्न १३ जिल्लाका ५६ प्रतिस्पर्धीहरुबाट छानिँदै उनले ग्राण्ड फिनालेमा अन्तिम पाँचमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा मुख्य निर्णायकको प्रश्नोत्तरमा भने उनले हिलेकी प्रजिता तामाङलाई पराजित गर्न सकिनन् । उपाधीसँगै सुष्माले रु.एक लाख नगद पुरस्कार प्राप्त गरेकी छिन् । पुरस्कारसँगै उनले उर्लाबारी सेन्ट्रल हबमा निशुल्क फेसन डिजाइनिङ कोर्स, निशुल्क ऐयर होस्टेस तालिम र दुबइ टुरको अवसर पनि जितेकी छिन् । उपाधी विजेता प्रजिताले भने एकथान स्कुटी, नगद रु.पच्चिस हजार र छात्रवृत्ति पुरस्कार पाइन् ।

नेपाल तामाङ घेदुङ संघ उर्लाबारी मोरङको आयोजना तथा नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति धनकुटाको सहआयोजनामा हिले खेलमैदानमा ग्राण्ड फिनाले सम्पन्न भएको थियो । विजेताहरुलाई फिनालेका प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ, सांसद नविना लामा, हेयर स्टाइलिस्ट निल डेविड कटुवाल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

धरान १४ विजयपुरमा बुबा मदन सिंगर तामाङ र कुमारी सिंगर तामाङको कोखबाट २० वर्ष अघि जन्मिएकी सुष्मा नेशनल एकेडेमीको २०७४÷०७५ व्याचकी छात्रा हुन् । उनले यसैवर्ष शिक्षा सङ्कायबाट कक्षा १२ को परीक्षा दिएकी हुन् । उनी साधारण परिवारकी छोरी हुन् । उनका बुबा मदन धरानमा भित्ता रङरोगन र मासु काट्ने व्यवसाय गर्छन् भने आमा गृहीणी हुन् ।

सुष्मा पढाई र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थी हुन् । शिक्षा सङ्काय अन्तर्गत कक्षा १२ को अभ्यास शिक्षणका क्रममा उनले उत्कृष्ट अध्यापन सीप प्रदर्शन गरेकी थिइन् । अभ्यासकै क्रममा उनको शिक्षणकलाबाट विद्यालयका शिक्षक तथा विद्यार्थी प्रभावित भएका थिए । नेशनल कलेजका प्रिन्सिपल तथा अध्यक्ष शालिक सताशक राई सुष्मा कुनैपनि स्टेजमा उत्कृष्ट प्रस्तुति दिन सक्ने क्षमता भएकी विद्यार्थी भएको बताउँछन् । सुष्माको भविष्य उज्वल रहेको बताउँदै प्रिन्सिपल राईले उनको प्रगति र सफलताले नेशनल कलेजले गर्व महशुस गरेको बताए ।

तपाईको प्रतिक्रिया

Loading…