जसले सलमानलाई घुँडा टेकाएरै छाडे

एजेन्सी | दुर्लभ वन्यजन्तु हिरणको शिकार गरेर एक दिन जेल बसेका बलिउड स्टार सलमान खानको विषयले अहिले सञ्चार माध्यम तताएको छ। अदालतले उनलाई ५० हजार धरौटीमा जेलबाट छुटकारका दिएको छ। तर बलिउड स्टार सलमानलाई यही मुद्दामा बीस वर्षसम्म तनावमा राख्ने को हुन् भन्ने सबैलाई जिज्ञासा हुन्छ। त्यही एक समुदाय हो जसले सलमानलाई घुँडा टेकाएरै छाडे।

बिश्नोइ समुदायका मानिस वन्यजन्तु र बोटबिरूवाका लागि ज्यान दिन पनि तयार हुन्छन्। बलिउड चलचित्र अभिनेता सलमान खानले कृष्णसार मारेको विवरणबाहिर आएपछि उनीहरू सडकमा उत्रिएका थिए। बिश्नोइ समुदायका मानिस आफ्ना आराध्य गुरू जम्भेश्वरले भनेका २९ वटा नियमहरूको पालना गर्छन्। बियाबान मरूभूमिमा उनीहरू वन्यजन्तु र बोटबिरूवाका रक्षक हुन्। उनीहरु मरूभूमिसम्म मात्रै सीमित छैनन्। राजस्थानबाहेक हरियाणा, पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा पनि बस्छन्।

उक्त समुदायका मानिस वन्यजन्तु र बोटबिरूवाका लागि शुरूदेखि नै राज्यसत्तासँग लड्दै आएका छन्। बिश्नोइ समाजका पर्यावरण कार्यकर्ता हनुमान बिश्नोइ भन्छन, ‘सन् १७८७ मा जोधपुर राज्यमा सरकारले रूख काट्न आदेश दिँदा बिश्नोइ समुदायका मानिस विरोधमा उत्रिएका थिए। त्यतिबेला राजा अभय सिंहको शासन थियो।’ उनका अनुसार त्यतिबेला रूख जोगाउने क्रममा जोधपुरको खेजडली र आसपास क्षेत्रका ३६३ जनाले आफ्नो ज्यानको बलिदानी दिए। तीमध्ये १११ जना महिला थिए।

पूर्वसांसद समेत रहेका बिश्नोइ भन्छन्, ‘त्यो बलिदानीको सम्झनामा हरेक वर्ष खेजडलीमा मेलाको आयोजना गरिन्छ, जहाँ बिश्नोइ समुदायका मानिस आफ्ना पूर्वजले दिएको बलिदानीको स्मरण गर्छन्।’ मरूभूमिमा वन्यजन्तुको रक्षा गर्नुपर्नेमा बिश्नोइ समुदायका मानिस अडिग रहिआएका छन्। हरिणको शिकार गर्ने मानिसहरूसँग बेलाबखत उनीहरूको भिडन्त भइरहन्छ। बिश्नोइ बहुल गाउँहरूमा कहिले काहीँ त हरिणको टुहुरो बच्चालाई महिलाहरूले स्तनपान गराइरहेको दृश्य पनि हेर्न पाइन्छ। उसो त बिश्नोइ समुदायका मानिसहरू खेतीपाती र पशुपालनलाई जीविकोपार्जनको स्रोत मान्छन्। तर, बदलिँदो समयसँगै कतिपयले व्यापारमा पनि हात हाल्न थालेका छन्।

तपाईको प्रतिक्रिया