गुरुकुलमा मुनामदन

विराटनगर / केही नदेखिने अध्याँरो छ । त्यत्तिकैमा एउटा आवाज आउँछ, ‘भाई मुनाले गलत बाटो लिई । कहिल्यै फर्किएर नआउने गरी मावल गएकी छे ।’ मञ्चको एककुनाबाट हल्का प्रकाश छरिन्छ र सबै दृष्य प्रष्ट देखिन थाल्छ । त्यतिबेला तुलसीको मोठमा एक बृद्धालाई सेतो कपडा ओढाएर लडाइएको हुन्छ । एक महिला र मदन धुरुधुरु रोइरहेका छन् । मदन आमालाई आफू ल्हासाबाट आइपुगेकाले उठ्न बारम्बार आग्रह गरिरहेका छन् ।

एकाएक शुन्यता र स्तब्ध छाउँछ । अध्यारोसँगै वरिपरि एकाग्र भएर बसेका अधिकाँश सुक्क–सुक्क गर्न थाल्छन् । यो दृष्य विराटनगरस्थित सुशीला कोइराला नाट्य घर गुरुकुलमा एकसाताबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाब्य मुनामदनको नाटकमा आधारित नाकट मुनामदनको मञ्चन हो । एक सातादेखि यसको मञ्चन गुरुकुलमा भइरहेको छ । वियोगान्त नाटकमा पात्रहरुले महाकाब्यको हरेक भूमिकालाई सशक्त रुपमा ज्वलन्त बनाएको देखिन्छ । चाहे मुनाको चुलबुलेपन, मदनको गम्भीरता, मदनको दिदीको रोदन, हिमाली भेगमा मदनलाई सहयोग गर्ने भोटेको भूमिकामा सराहनीय रहेको छ ।

विराटनगरमा जारी १ घण्टा २० मिनेटको नाटकका लागि यतिबेला प्रदेश सरकार प्रमुख, मन्त्री, राजनीतिक दलका नेता, विद्यार्थीको बाक्लो उपस्थिती रहँदै आएको छ । गतवर्ष फागुनमा मञ्चन भएको नाटक दोश्रोपटक हेर्न नाटकघर पुगेका प्रदेश सरकार प्रमुख प्रा.डा गोविन्द तुम्बाहाङ पनि बुधबार उत्साहित देखिए । नाटक र साहित्यमा विशेष रुची राख्ने प्रमुख प्रा.डा तुम्बाहाङले सक्षिप्त प्रतिक्रिया दिदैं भने, ‘नाटक राम्रो छ । पात्रहरुको भूमिका सशक्त लाग्यो ।’

त्यसैगरी, गएको वर्षसमेत नाटक हेरेका स्थानीय सप्तकोशी इङलिस बोर्डिङ स्कुलका कक्षा ४ मा अध्ययनरत इमोन राई नाटक हेरिसकेपछि रोमान्च महसुस भएको बताउँछन् । इमोन नाटकले मदनको भूमिका राम्रो लागेको बताएका इमोनले मदनले मुनासँग गरेको रमाइलो क्षणहरु रमाइलो लागेको बताए । विराट आर्दश साहित्यिक मञ्चद्धारा आयोजित नाटक माघ २२ गतेबाट सुरु भएको हो । सुरुआत केहीदिनसम्म दैनिक दुई पटक मञ्चन गरिएको नाटक हाल दैनिक ४ सो प्रस्तुत हुदै आएको मञ्चका सल्लाहकार मीनकुमार नवोदितले बताए ।

विगतमा सात दशकअघिको गरिवी तथा बेरोजगारीलाई महाकवि देवकोटाले सचित्ररुपमा खण्डकाब्यमा उतारे पनि अवस्था हाल उही रहेको नवोदितको बुझाइ छ । खण्डकाब्यमा चरम गरिवीमा रहेका मदन रोजगारीका लागि ल्हासा पुगेको सन्र्दभसंगै परिवेश, समय बदलिए पनि नेपालीहरुको अवस्था अझैपनि उस्तै रहेको उनले बताए । फागुन ४ गतेसम्म चल्ने नाटकको मुख्य पात्र मुनामा सरु कट्टेल, मदनमा लोकेश दंगाल, भोटेको पात्रमा मिलन चाम्लिङ, नाट्य रुपान्तरण कट्वाल दीपक तथा निर्देशन सविन कट्टेलको रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…