गित गाउन कतार गएका ३ कलाकार अलपत्र परी नेपाल फर्किए : ५ दिन सम्म भोकै बस्नु परेको गुनासो

काठमाडौं | लगभग १ वर्ष अगाडि गीत गाउन र नृत्य गर्न गएका ३ नेपाली कलाकारहरु कतारमा अलपत्र परि हालै स्वदेश फर्किएका छन् । आयोजक प्रविण गुरुङले कतारमा रहेको ‘एसियाना दोहोरी रेस्टुरेन्ट’ मा गाउन र नृत्य गर्न भनि लगेका गायिका सहना महर्जन, लोक दोहोरी गायिका निरुता विश्वकर्मा र नृत्यकार रेश्मा राई ६ / ७ महिनादेखि अलपत्र परेका थिए । यि ३ कलाकार वर्किङ भिसामा १ वर्षको लागि उक्त रेस्टुरेन्टमा गएका थिए ।

प्रविण गुरुङले १ वर्षको अवधि बनाएर एउटा कलाकारले सम्मान र सेवा सुविधाका साथ गीत गाउन र नृत्य साथै आफ्नो इच्छाअनुसार नेपाल फर्किनु पाउने सहमतिमा कतार लगेका थिए। तर, यि सबै कुराहरु ठिक विपरीत भइ सोच्नै नसकेको कुरा भएको यि ३ कलाकारहरु बताए ।

गएको ३ महिनासम्म काम भएको र त्यसपछि वास्तै नगरेर अलपत्र पारिएको बताएका छन्। कोरोनाको कारण कतारमा लक डाउन भएपछि यि कलाकारहरुलाई राम्रो खानाको समेत व्यवस्था भएन । खानाको नाममा थियो त बिग्रेको चामल र दाल मात्र । बाकी सबै जसोतसो गरेर काम चलाए । उनका अनुसार उक्त रेस्टुरेन्टमा यि ३ कलाकारलाई स्टेजमा गाउन र नृत्य गर्नुको सट्टा रेस्टुरेन्टमा आउने ग्राहकहरुको सेवा गर्नु पर्थ्यो । त्यो पनि ग्राहकसँग बसेर रक्सी पिउनु पर्ने, ढोकामा उभिएर नमस्ते, सलाम गर्नु पर्ने, ग्राहको कार्ड स्क्यान गर्नुपर्ने काम पर्थ्यो ।

‘तिमीहरू व्यापार पनि गर्दैनौं , ग्राहक बोलाउदैनौ, साथमा बसेर रक्सी खादैनौ भोलीबाट काममा नआउ आफै टिकट बनाएर घर फर्क’ भनि निकालिएको रहेछ । यि कलाकारहरुको आफ्नो मिहिनेतको कमाइले प्रविणले टिकट काटिदिए । एयरपोर्ट पुग्दा त्यहाँको प्रहरीले उनिहरुको पासपोर्ट राखेर ४ घण्टासम्म एयरपोर्टमै बस्न लगाइ जेलमा पठाइएको थियो । तर, यि कलाकारलाई किन पक्राउ गरियो भन्ने जानकारी थिएन । उनीहरुलाई प्रहरीले कारण पनि भनेनन् । ५ दिनसम्म उनिहरुलाई जेलमा राखियो । त्यहाँ उनिहरुले खाना खान पाएनन् ।

जेलमा पानी समेत राखिएको रहेनछ । ट्वाइलेटमा झर्ने पानी पिएर बसेका थिए । ५ दिनपछि नेपाल फर्किने बेला थाहा पाएका रहेछन् प्रविणले रेस्टुरेन्टबाट भागेको केस गरेका रहेछन्। यस विषयमा राजदुतावास र अन्य कार्यालयमा सम्म पुग्ने हुँदा आफू आपतमा पर्ने हुँदा प्रविणले कहिँ निस्किने वातावरण नबनाएको यि ३ कलाकार बताउँछन् । उनिहरुले बताए त्यहाँको कानुन अनुसार कुनै पनि कामदारहरुले आफैं टिकट बनाइ घर फर्किएमा त्यो कम्पनीले प्रति व्यक्ति १४,००० रियाल जरिवाना तिर्नुपर्ने रहेछ । उक्त जरिवानाबाट बच्न रेस्टुरेन्टबाट भागेको केस गरेका रहेछन् ।

तपाईको प्रतिक्रिया