कोरोनाविरुद्ध प्रहरी जवानको जनचेतनामूलक गीत

विराटनगर / नेपाल प्रहरीका जवान ओमकार राउतको स्वरमा रहेको ‘कोरोना फेरि आयो है, सामाजिक दूरी कायम राखौँ है’ बोलको गीत अहिले निक्कै चर्चित छ । राउत जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत छन् । उनले गाएको गीत अहिले महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा निक्कै सहयोगी बनेको छ । कोरोनाका सवालमा सूचनामूलक सामग्री पस्कँदा होस् वा प्रहरी लगायत सरोकारवालाले गर्ने जनचेतनामूलक कार्यक्रममा यहि गीतले प्राथमिकता पाउने गरेको छ ।

सुनसरी प्रहरीको फेसबुक पेजमा समेत अपलोड रहेको गीतले धेरैको मन जित्न सफल भएको छ । गीतमार्फत कोरोना के हो र यसले मानव जीवनमा कस्तो संकट निम्त्याइरहेको छ भन्ने कुरालाई उजागर गर्न खोजिएको छ । साथै भाइरस महामारीबाट बच्नका लागि सावधानी अपनाउनुपर्नेमा जोड दिँदै गीतले कोरोनाविरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ । कोरोनाका कारण विश्व नै आक्रान्त बनिरहेका बेला महामारी नियन्त्रणका लागि विभिन्न उपाय अपनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी गर्नु परेको निषेधाज्ञाका कारण आम सर्वसाधारणको दैनिकी निक्कै कष्टकर बनेको छ ।
महामारी रोक्नका लागि जनचेतनालाई पनि नेपाल सरकारले प्राथमिकता दिएको छ । कोरोनाविरुद्ध विभिन्न विज्ञापन र जनचेतनामूलक सन्देश प्रवाह गर्ने काम भइरहेको छ । गीतसंगीतमार्फत पनि सर्वसाधारणलाई सचेत गराउने प्रयासहरु भइरहेका छन् ।

प्रहरी जवान राउतले गाएको गीतले पनि कोरोनाविरुद्धको लडाँइ र अभियानमा निक्कै मद्धत पुगिरहेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताए । ‘गीतसंगीत मन नपराउने मान्छे सायदै होलान्,’ उनले भने, ‘कोरोनाकै कुरा गीतमार्फत बाहिर आउँदा वास्तमै सचेत हुन आवश्यक रहेछभन्ने सन्देश सबैमा जाने गरेको छ ।’ एसपी थापाले सचेतनाका लागि गीतले भरपुर सहयोग पुगिरहेको जानकारी दिए । गीतले साँच्चै नै कोरोनाबाट सचेत हुन आवश्यक रहेको महसुस गराउने उनको भनाइ छ । स्वः प्रेमध्वज प्रधानले गाएको कालजयी गीत ‘टाढा भइगयौ फेरी’को लयमा प्रहरी जवान राउतले गाएको उक्त गीतलाई धेरै स्रोताहरुले मन पराएका छन् ।

प्रधानको निधन भएकै दिन आफूले शब्दहरु संगालेर गीत तयार गरेको राउतले बताए । गीतका रचनाकारसमेत रहेका उनले झण्डै एक महिनाअघि साउण्ड ट्रयाकमा गाएको गीतलाई आफ्नो फेसबुकमा पनि राखेका छन् । ‘स्टेजमा गीत गाउने क्रममा साथीहरुले खिँचिदिनु भएछ । फेसबुकमा राख्दा राम्रो प्रतिक्रिया पाएँ,’ राउतले भने, ‘वास्तमा कोरोना कहरमा गाएको गीत सबैले मन पराइदिनु भएको छ । कोरोना केही हैन भनेर लापरबाही गर्नेहरुलाई गीतमार्फत एउटा गतिलो सन्देश पनि दिन खोजिएको छ ।’ कोरोना सचेतना सम्बन्धी उनको यो दोस्रो गीत हो ।

उनी स्टेज कार्यक्रममा पनि गीत गाउँछन् । सानैदेखि गायनमा रुचि भएका राउतले बेलाबेलामा हुने साँगीतिक कार्यक्रममा गीत गाउने गरेका छन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान लगायतका जिम्मेवारी पूरा गर्दै बेलाबेला उनी गीत पनि लेख्छन् । गीत लेखनमा उनको शब्द चयन राम्रो छ । राउतले भने, ‘गीतमार्फत् सामाजिक हिसाबमा प्रभावकारी तरिकाले सन्देश प्रवाह गर्न सकिन्छभन्ने कुरामा विश्वस्त छु ।’

तपाईको प्रतिक्रिया