अमेरिकी ग्रिनकार्ड अझै नत्यागेका सरोज खनाल कोरोना त्रासबिचमै अमेरिका उडे

ईटहरी/ अमेरिकामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहँदा अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ । यसबीच, आइतवार अमेरिकाले नेपालमा रहेका ३ सयभन्दा बढी आफ्ना नागरिकलाई स्वदेश फर्काउने क्रममा अभिनेता सरोज खनाल पनि अमेरिका उडेका छन् । करीब एक दशक अमेरिका बसेर नेपाल फर्किएका उनले अझैसम्म पनि ग्रिनकार्ड त्यागेका छैनन् ।

अमेरिकाको सुःख सुविधा छाडेर उनी श्रीमतीसहित करीब ५ वर्ष अगाडि नेपाल फर्किएका थिए । तर, उनका छोराहरु भने अमेरिकामा नै बस्ने गर्दछन् । गएको असारमा उनी हजरबुबा बनेका थिए । छोराको सन्तान भएपछि खनालकी श्रीमती सूर्यमाला अमेरिका गएकी थिइन् । अभिनेता खनाल भने नातिनीको पास्नीमा जाने तयारीमा थिए । तर, त्यही समयमा लकडाउन भयो ।

सरोज खनाल परिवारसँग भेट गर्नका लागि कतार एयरवेजको चार्टर्ड विमानमार्फत् आइतवार अमेरिका प्रस्थान गरेका हुन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । नेपाल फर्किएपछि चलचित्र अभिनय र व्यवसायमा उनी व्यस्त थिए । बुझिएअनुसार, उनी स्थिति सामान्य भएपछि नेपाल फर्किनेछन् । लकडाउनपछि उनी घरको चारकुनामा सीमित भएका थिए ।

तपाईको प्रतिक्रिया