अनुपको ‘पुरानो बुलेट’ मा चडेर लेटाङ्ग जाँदै वर्षा र माला !

काठमान्डाैं / नायक अनुपविक्रम शाहीकाे मुख्य भूमिकामा चलचित्र ‘पुरानो बुलेट’ निर्माण हुने भएकाे छ । विहिबार काठमाडौं बानेश्वरमा अवस्थित कुञ्ज थिएटरमा पत्रकार सम्मेलनको आयोजना गरी सो चलचित्र असार १५ गतेदेखि छायांकन सुरु हुने निर्माण पक्षले जानकारी गराएको हाे । सो चलचित्रमा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा देखिदैछन् भने अन्य कलाकारहरुमा वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् । सो पत्रकार सम्मेलनमा कलाकारहरुले आफ्नो भूमिकाको बारे संक्षिप्त कुराहरु राखेका थिए ।

चलचित्रको निर्माता अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् भने कार्यकारी निर्माता सन्तोष राई रहेका छन् । सो चलचित्रको कथा सन्तोष राई र भीषण राईले लेखेका हुन् । पुरानो बुलेट मार्फत ‘डेब्यु’ गरेका निर्देशक पत्रकार भीषण राईले चलचित्र समसामयिक बिषयमा अाधारित रहेकाे बताए। यस्तै पुरानो बुलेट चलचित्रमा उत्तमजंग लिम्बुको संगीत, थिम सङ जयन जे वाईवाको छ भने राजेश पायल राई, मेलिना राईको स्वर रहेको छ ।

१ करोडको लागतमा निर्माण हुने यो फिल्मलाई आउँदो मंसिरमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । घोषणा कार्यक्रममा नायिका वर्षाले आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंग भएको सुनाइन् । नायक अनुप र नायिका मालाले पनि चलचित्रमा जोडिन पाएकोमा खुशी व्यक्त गरे । सोही कार्यक्रम क्रेजी इन्टरटेनमेन्टका चलचित्र निर्माता विरेन साम्वाको केक काटेर वर्थ डे मनाइएको थियो । चलचित्रलाई हरि लामा घलेले खिच्ने भएका छन् । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा निर्देशक मिलन चाम्स, चलचित्र निर्माता ज्योतिराज राई लगायतको उपस्थिति रहेको थियो । चलचित्रका अधिकांस सुटिङ माेरङ जिल्लाकाे लेटाङ र अासपासका क्षेत्रमा हुने चलचित्रका कार्यकारी निर्माता सन्तोष राईले बताएका छन् । चलचित्र क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गर्ने भएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया