इटहरी । बन कार्यालय चालक सहित सवारी साधन नियन्त्रणमा लिएको घटनालाई मुख्य विषय बनाउँदै इटहरी उपमहानगरले शनिवार आपतकालिन कार्यपालिका बैठक सम्पन्न गरेको छ । उपमहानगरको कार्यवाहक मेयर दिवस पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बन कार्यालयको नियन्त्रणमा रहेका सवारी साधन र चालकहरूलाई बिना सर्त रिहाइको माग गरिएको छ ।
सम्बन्धित निकाय सँग समन्वय नै नगरी नियम विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै जिल्ला बन कार्यालय सुनसरीले शुक्रवार ५ जना चालक सहित ५ वटा टिपर नियन्त्रणमा लिएको थियो । सोही विषयमा केन्द्रित भई उपमहानगरले शनिवार बिहान आपतकालिन बैठक डाकेको हो ।
बैठकमा कार्यपालिका सदस्यहरूले घटनाको घोर भर्त्सना गर्दै बन कार्यालयले नियन्त्रणमा लिएको सवारी साधन र चालकहरूलाई बिना सर्त रिहाइको माग गरेका छन् । बैठकमा कार्यवाहक मेयर दिवस पोख्रेलले आफ्नो क्षेत्रको खोलाबाट गिटि , बालुवा निकाल्ने यस अघिनै कार्यपालिकाबाट पास गरी नियम पूर्वक काम गरिरहेको बेला बन कार्यालयबाट धर पक्कड भएको बताए ।
उनले डुबान क्षेत्रबाट जनताले माग गरे बमोजिम वडाहरूमा विकास निर्माणको कामकालागि आवस्यक गिटी बालुवा निकाल्ने काम गरिरहँदा बन कार्यालय तगारो बनेको पनि बताए ।
बैठकमा कार्यपालिका सदस्यहरू माधव कोइराला , तारादेवी ढकाल , प्रभात आचार्य , भिमा तुम्बाहाम्फे , भुवन पोख्रेल लगायत अन्यले बन कार्यालयको निन्दा गर्दै नियन्त्रणमा रहेका चालक र सवारी यथाशीघ्र छाडन माग गरेका छन् । २४ घण्टा भित्र माग सम्बोधन नभए उपमहानगर मात्र नभई सिङ्गो नगरवासी बन कार्यालय विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । घटनाबारे कोसी प्रदेश सरकार , सङ्घीय सरकार र मातहतका कार्यालयहरूमा पनि जानकारी गराइसकेको तर कतैबाट कुनै सुनुवाइ नै नभएको कार्यपालिका सदस्यहरूले बताएका छन् ।
यता खोला उत्खनन तत्काल रोक्न पटक पटक अनुरोध गर्दा पनि उपमहानगरले अटेर गरेपछि प्रशासनको सहयोगमा ट्रिपर र चालकलाई नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय सुनसरीका अधिकृत धर्मनाथ शाहले जानकारी दिए ।