इटहरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न केही मिटर अधुरै रहेको इटहरी चौरास्त चोकको उत्तरतर्फ सडकको क्षेत्राधिकार भित्र पर्ने जग्गा खाली गराउन माग गरिएको छ। रानी विराटनगर इटहरी धरान सडक विस्तार आयोजनाले इटहरी उपमहानगरपालिकालाई पत्राचार गरि सडकको क्षेत्राधिकारको जग्गा खाली गराउन माग गरेको हो ।
इटहरी उपमहानगरपालिकाले यसअघि सडक क्षेत्राधिकारभित्र पर्ने वडा नं. ६ र वडा नं. ९ का घर डोजर प्रयोग गरि भत्काएपछि सडक विस्तार भइरहेको छ। ६ लेन सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाईमा भत्काएपछि अहिले इटहरीको चौरास्त बजार क्षेत्रको दक्षिणतर्फ सडक विस्तार भइरहेको छ।चौरास्त चोकको उत्तरतर्फ सडकको क्षेत्राधिकार भित्र पर्ने पाँच(पाँच मिटर जग्गा अहिलेसम्म खाली नगराउँदा फुटपाथ बन्न सकेको छैन् । जसले गर्दा सडक विस्तार योजनाका प्रमुुख दानकुमार शाक्यले जग्गा खाली गराउन उपमहानगरपालिकालाई पत्रचार गरि माग गरेका छन् ।
छ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०–२० मिटर मात्र सडक विस्तार गरिएको छ। आयोजनाले सम्पूर्ण जग्गा लिएर मात्र काम गर्छु भन्दा कुनै पनि काम अघि नबढ्ने निश्कर्ष निकालेर शुरुवातमा फुटपाथ बाहेकको सडक विस्तार गरेको थियो । इटहरी चौरास्त चोकको उत्तरतर्फ अब पाँच(पाँच मिटर सडक विस्तार गर्दा गोरखा डिपार्टमेन्टसहित आसपासका केही घरहरु भत्किनेछन् ।
पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी छ।
२०६९÷०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समय थप गरिएको छ। पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।