आसरा सुधार केन्द्र पानवारी धरानको पाँचौ वार्षिकोत्सव सम्पन्न

धरानः आसरा सुधार केन्द्र पानवारी धरानको पाँचौ वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले पानसमा दीप प्रज्वलन गरी बिधिवत रूपमा कार्यक्रमको उद्घाटन गरेकी हुन्। केन्द्रको परिसरमा नव-निर्मित भगवती मन्दिरको समेत समुद्घाटन गरेकी हुन्।

आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्षले दुर्व्यसनीमा फसेका युवाहरूलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुनर्जीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रूपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा समेत थप व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रदान गर्दै रहनेमा आफू विश्वस्त रहेको बत्ताइन।

कार्यक्रममा प्रमुख अतिथि सिंहले मन्दिर निर्माणमा सहयोग पुर्‍याउनेहरूलाई सम्मान पत्र तथा केन्द्रमा उपचाररत सदस्यहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने स्वास्थ्य कर्मीहरू तथा आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रका उपचाररत सदस्यहरूलाई समेत पुरस्कार वितरण गरेकी थिइन।

कार्यक्रममा धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई तथा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं आसरा सुधार केन्द्र, पानवारी धरानका प्रमुख संरक्षक  प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले शुभकामना मन्तव्य राख्दै लागुऔषधले जताततै जरो गाडेकोमा दुः ख व्यक्त गरे।। साथै कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशङ्कर पंजियारले प्रमुख अतिथि श्रीमती कुसुम लता सिंह, कोसी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिता ज्ञवाली लगायतका महानुभावहरूलाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सञ्चालक समितिका पदाधिकारीहरू, केन्द्रका आजीवन सदस्यहरू, स्थानीय जनप्रतिनीधीहरु, सुरक्षा निकायका प्रमुखहरू तथा कर्मचारीहरू र उपचाररत सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

आसरा सुधार केन्द्र पानवारीले २०७५ साल चैत्र महिना देखि निरन्तररुपमा लागू औषध तथा मद्यपानको लतमा फसेका व्यक्तिहरूलाई स्वास्थ्यकर्मी एवं अनुभवी तथा दक्ष मनोविमर्शकर्ताहरुद्वारा उपचार गराई समाजमा पुनर्स्थापना गराउँदै आउनुका साथै लागू औषधको दुरुपयोगबाट हुन सक्ने पारिवारिक, सामाजिक, आर्थिक तथा व्यक्तिगत समस्याका साथै आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ  लागूऔषध दुर्व्यसनको उपचार तथा पुनर्स्थापनाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेकोछ ।

यस केन्द्रले स्थापना काल देखि हाल सम्म ८९६ जना सदस्यहरूलाई उपचार गराउँदै आइरहेकोमा उपचार पश्चात् ८१० जनालाई डिस्चार्ज गरी समाजमा पुनर्स्थापना गराई सकेको छ भने हाल ८६ जना सदस्यहरूको प्रभावकारीरुपमा स्वास्थ्य उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

Loading…