धरानमा ग्यास जोडेको २ घण्टामै नयाँ सिलिन्डर विस्फोट , इटहरीकी अञ्जना सहित ८ जना घाइते , ४ को अवस्था गम्भीर

सुनसरी । सुनसरीको धरान उपमहानगर १७ आदर्श चौकमा साेमबार दिउँसो खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा ८ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार आदर्श चौकस्थित एक स्थानीयको घरमा डेरा गरी बस्ने अञ्जना राईले जडान गरेको नयाँ सिलिन्डर विस्फोट भएको हो ।

बजारबाट नयाँ सिलिन्डर ल्याएर जोडेको २ घण्टामै भयानक आवाज सहित विस्फोट भएको छिमेकीहरूले बताएका छन् । विस्फोटबाट इटहरी उपमहानगर ५ घर भई धरान आदर्श चौकमा डेरा गरी बस्ने ४५ बर्सिया अञ्जना राई , उनकै आमा ६६ बर्सिया रामकुमारी राई घरधनी २७ बर्सिया सविता राई, २२ बर्सिया सोनीका राई गम्भीर घाइते बनेको इलाका प्रहरी कार्यालय धरानमा प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए ।

त्यस्तै ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएको डिएसपी मल्लले जानकारी दिए ।
विस्फोटबाट गम्भीर बनेका ४ जनाको ७० प्रतिशत शरीरका अङ्गहरू जलेको र उनीहरूको धरानस्थित बिपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बत्ताएको छ ।

तपाईको प्रतिक्रिया

Loading…