सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका ७ स्थित गाेठगाउँका शंकर आचार्य विगत १३ बर्ष अघि जंगलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिक रूपमा अशक्त भए । अशक्त भए पछि तेसकाे पीडालाई भुलेर उनले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याएर राम्रो आम्दानी गर्न सफल भएका छन्। ४५ बर्षिय आचार्यले फ्रेस हाउसकाे व्यवसायबाट मासिक रूपमा सम्पूर्ण खर्च कटाएर ३० हजार सम्म आम्दानी गर्ने गरेको बताए । “दैनिक रूपमा ७० केजि सम्म कुखुराकाे मासु बिक्री वितरण गर्दै केही जनशक्तिलाई राेजगारी समेत दिएकाे छु“ शंकरले भने ´´शारीरिक रूपमा अशक्त भए पनि हरेस नखाएर परिवारको खर्च टार्न फ्रेस हाउस सञ्चालनमा ल्याएको छु ।” उनले सुरूआतमा ऋणधन गरेर रकम जाेडजम्मा गरि कुखुरापालन व्यवसाय समेत गरेका थिए । कुखुरा पालनबाट भन्दा राम्रो आम्दानी फ्रेस हाउसबाट हुने चाल पाएर याे व्यवसायलाई स्थायी रूप दिएर अघि बढेको शंकरले उल्लेख गरे ।
शारीरिक रूपमा अशक्त भए पनि शंकर कृतिम खुट्टाकाे सहायतले तीन पाङ्ग्रे स्कुटर लिएर आवश्यक काममा लागि बजार निस्किन्छन् । अशक्त भएका कारणले व्यवसायकाे लागि सुरूआती अवस्थामा निकै सङ्घर्ष गर्नुपरेको अनुभव शंकरसँग छ । भारतकाे नागालेन्डमा जन्म भएर आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ८ सम्म पढेका शंकरसँग डिल्लीमा १३ बर्षसम्म सुरक्षागाडमा काम गरेको समेत अनुभव छ । “भारतमा मजदुरी गरेर घरखर्च चलाइराखेको थिए, खुट्टा भाँचीएर यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो,” शंकरले दुखेसो गरे “अरूको देशमा कति दुःख गर्ने आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले फ्रेस हाउस चलाएको हुँ”। व्यवसायमा प्रतिस्पर्धा तथा चुनौती दुवै भएकोले आफू अशक्त भएर शारीरिकरूपले पसल चलाउँन असहज हुँदा पनि नियमित काम गरिरहेको उनले उल्लेख गरे ।
विगत १२ बर्ष देखि आफ्नै गाउँठाउँमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शंकरलाई याे व्यवसायमा लाग्न शुरूवातमा स्थानीय कमल दाहाल तथा मनाेज घिमिरेबाट हाैसला मिलेकाे थियाे ।
अहिले दुईजाना छोराछोरीको पढाइ र घरपरिवारको सम्पूर्ण खर्च फ्रेस हाउसकै कामबाट गर्ने गरेको शंकरले उल्लेख गरे । “यसैबाट मेराे जिविका चलेको छ” उनले भने “आफूसँग लगानी नभएका कारण फ्रेस हाउसलाई थप विस्तार गर्न सकेको छैन”, व्यवसाय सञ्चालनका लागि स्थानीय बाहेक अहिले सम्म सरकारी निकायबाट कुनै सहयोग नपाएको शंकरको गुनासो छ । स्थानीयस्तरमै आयमूलक काममा लाग्नेलाई प्रोत्साहन स्वरूप विभिन्न सीपमूलक तालिम,प्रशिक्षण र सुरूआती अवस्थामा सर्तसहितकाे ऋणपानकाे व्यवस्था सरकारी पक्षबाट गर्नुपर्ने उनले सुनाए ।
सुन्दरहरैँचा नगरपालिकामा २ दर्जन भन्दा बढी फ्रेस हाउस सञ्चालन भएर आर्थिक काराेबार गरेका छन् । अपाङ्ग भएर पनि हरेश नखाइ हिम्मत पूर्वक निरन्तर रूपमा व्यवसाय गरि अघि बढेको शंकरकाे फ्रेस हाउस भने फरक र उदाहरणीय भएको सुन्दरहरैँचा नगरपालिका वडा न.७ का वडा अध्यक्ष भुवनसिंह मगरले बताए ।
फ्रेस हाउसकाे व्यवसायमा सरसफाइ तथा फाेहाेरमैला व्यवस्थापनमा समस्या हुने गरेको बताउँने शंकरले काम गरेर खानलाई लाज मन्न नहुने तथा सिप र जाँगर नभएको मान्छे जिउँदै मरे तुल्य हुने उल्लेख गरे। फ्रेस हाउससँगै शुरूमा कुखुराकाे अण्डा समेत बिक्री वितरण गर्दै आएका शंकर शारीरिक रूपमा अशक्त भए पनि आफ्नाे व्यवसायमा मेहेनेत पूर्वक अघि बढ्नु सकारात्मक पक्ष भएको स्थानीय ग्राहकहरू समेत बताउँछन् ।
“आफुलाई ग्राहक तथा शुभचिन्तकबाट ठूलाे साथ सहयाेग मिलेकाे छ´´ शंकरले भने “कहिलेकाहीँ कुखुरा सटेज हुन्छ तर पनि डिलरबाट साथसपाेट पाएकाे छु ´´। गरिखान हरेश खानु हुँदैन भनेर शारीरिक रूपमा अशक्त भए पनि अरूलाई हाैसला दिन समेत व्यवसायलाई जाेड दिएकाे शंकरले उल्लेख गरे। “आत्माबाल उच्च राख्नु पर्छ , कसैले अनावश्यक रूपमा विचरा भनेकाे राम्रो हाेइन् ´´। शारीरिक रूपमा अशक्त भए पनि हरेस नखाइ समाजमा अघि बढेर गरि खानु पर्छ भन्ने सकारात्मक उदाहरण शंकरले प्रस्तुत गर्न सफल भएको नगर स्तरीय अपाङ्ग समन्वय समिति अध्यक्ष मिना आचार्यले बताइन् ।