धरान ६  का वडाध्यक्ष भट्टराईले आफ्नो पारिश्रमिकबाट विपन्न परिवारलाई बाँडे  ब्लांङ्केट

धरान: धरान ६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले आज (बुधवार) उनले २५ वटा ब्ल्याङ्केट विपन्न परिवारका जनतालाई वितरण गरेका छन् । धरान वडा नं ६ घोपाली टोलमा पुगेर वडाध्यक्ष भट्टराईले ब्लांङ्केट वितरण गरेका हुन् । अहिले पुषको कठ्याङ्ग्रिदो जाडोमा वडाध्यक्ष भट्टराईले वितरण गरेको  ब्लांङ्केट ले केही हदसम्म भए पनि विपन्न परिवारलाई न्यानो महसुस गराउने अपेक्षा गरिएको छ । उनले आफ्नो पारिश्रमिकबाट जनतालाई सेवा गरेको यो पहिलो पटक भने होइन । यसअघि पुष ९ गते पनि उनले ४५ वटा ब्ल्याङ्केट यसरी नै विपन्न परिवारलाई वितरण गरिसकेका छन् ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा स्वतन्त्रबाट चुनिएका धरानका एकल वडाध्यक्ष हुन  भट्टराई ।  यी वडाअध्यक्षले पनि राजनीतिक दलहरूबाट वडाध्यक्षमा उठेका उम्मेद्वारहरुलाई पराजित गरेका थिए । उनको चुनाव चिह्न थियो, पानीको धारा । तर मेयरमा निर्वाचित साम्पाङको जित र चर्चाको अघि उनको जित ओझेलमा परेको थियो । हुन पनि वडाध्यक्ष भन्दा बढी महत्त्व मेयर पदको नै हुन्छ । त्यसैले पनि मेयरमा विजयी साम्पाङको चर्चा धेरै हुनु स्वाभाविक नै थियो । तर वडाध्यक्ष भट्टराई पनि चर्चा गर्न योग्य पात्रकोरुपमा देखिएका छन् । 

उनले चुनावको बेला नै घोषणा गरेका थिए, ‘चुनाव जिते भने आफूले पाउने पारिश्रमिक जनताको सेवामा खर्च गर्नेछु ।’ अन्ततः उनले चुनाव पनि जितेका छन्, र आफूले जनतासँग गरेको वाचालाई पुरा गर्न लागिपरेका छन् । उनले आफ्नो पारिश्रमिकबाट विपन्न परिवारका सदस्यहरूलाई आवश्यक पर्ने सामान खरिद गरेर वितरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…