नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक (भिडियो)

इटहरी / नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियन सुनसरीको आधिकारिक युट्युब च्यानलमार्फत उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको हो । प्रेस युनियनको नवौँ महाधिवेशनमा समय अभावका कारण प्रस्तुत गर्न नसकिएपनि आफूहरूले शुक्रबार (आज) युट्युबमार्फत वृत्तचित्र सार्वजनिक गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

‘म अध्यक्ष भएर आएको करीब २८ महिनाको अवधिमा हाम्रो कार्यसमितिले गरेका महत्वपूणर् कामबारे वृत्तचित्रमार्फत प्रस्तुत गरिएको छ,’ अधिकारीले भने, ‘१५ मिनेटको वृत्तचित्रमा हामीले सञ्चारकर्मीहरूका लागि गरेको महत्वपूणर् काम प्रस्तुत गरिएको छ ।’कोरोना महामारीमा सञ्चारकर्मीका लागि गरिएको कोरोना बीमा, मोबाइल डाक्टर सेवा, दुर्घटना बीमा, अक्षयकोष स्थापना तथा जग्गा प्राप्तिसम्मको काम गरेको प्रेस युनियन सुनसरीले दुई दर्जन बढी गरेका कामको वृत्तचित्र बनाइएको हो । अधिकारीले नेतृत्व गरेसँगै सुनसरीका सञ्चारकर्मीहरूका लागि सकारात्मक काम भएको प्रशंसा गर्दै युनियन केन्द्रीय कार्यसमितिले नवौँ महाधिवशेनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उत्कृष्ट शाखाको रूपमा सम्मान समेत गरेको छ ।

वृत्तचित्र निर्माणले आफूहरूले गरेका कामको दस्तावेज बन्ने सुनसरीका अग्रज पत्रकार तथा सुनसरी युनियनका पूर्व अध्यक्ष हर्ष सुब्बाले बताए । ‘सकारात्मक काम गरेपछि यसको दस्तावेज राख्नुपर्छ भन्ने उदाहरणको रूपमा यो भिडियो प्रस्तुत भएको छ ।’ सुब्बाले भने । युनियनका नवनिर्वाचित महासचिव दिलीप पौडेलले अहिले सुनसरी युनियनले सृजनात्मक काम गरेको बताए । ‘सुनसरी शाखालाई हेरेर अरु शाखालाई पनि सकारात्मक काम गर्नका लागि उर्जा प्रदान गर्छ ।’ उनले भने ।

वृत्तचित्र अनिता विन्दुको स्वरमा रेकर्ड भएको छ । समग्र श्रमजीवी पत्रकारहरूको पक्षमा काम गर्दै आएको युनियनले स्थापनाको ३१ वर्ष पूरा गरिसकेको छ । शाखा विस्तारको क्रममा सुनसरी शाखा विं सं. २०५१ सालमा गठन भएको थियो । स्वर्गीय पदमकेशर कार्कीको अध्यक्षतामा गठन भएको यस शाखामा हाल १० औं जिल्ला अध्यक्षको रुपमा २०७७ बैशाख ६ गतेदेखि पवन अधिकारीले नेतृत्व गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…