सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले एक कार्यक्रमकाे आयाेजना गरि अनलाइन सेवा मार्फत राजस्व भुक्तानी शुरु गरेको छ। सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो सम्पत्ति कर भुक्तानी गर्दै अनलाइन राजस्व भुक्तानी शुरु गरेकाे बताए । उनले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए। विद्युतीय भुक्तानी शुरु भएपछि नगरपालिकाका स्थानीय करदाताहरुले घरमा नै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न सक्ने नगरप्रमुख ढकालले उल्लेख गरे ।
अनलाइन भुक्तानी शुरु भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिइएको उल्लेख गरिएको छ । विद्युतीय भुक्तानीबारे करदातालाई नगरपालिकाले आवश्यक शिक्षा दिने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए । उनले विद्युतीय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने बताए । नगरपालिकाले विद्युतीय भुक्तानीका लागि इसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको हाे। अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको छ ।