घर आगँनमै गएर मालपोत कार्यालय पाँचथरद्धारा घुम्ती शिविर संचालन

पाँचथर / घर आँगनमै सेवा प्रवाह गर्ने उद्धेश्य राखी पाँचथर जिल्लामा मालपोत कार्यालयले घुम्ती शिविर बाट सेवा दिन थालेको छ । असाहाय, अशक्त, एकल, जेष्ठ नागरिक लगायत सवै लाई घर आगँनमै सेवा प्रवाह गर्ने उद्धेश्यले शिविर बाट सेवा दिन थालिएको जिल्ला मालपोत कार्यालय पाँचथरका कार्यालय प्रमुख बाबुराम पोख्रेलले बताए ।

प्रत्येक पालिकामा एक हप्ता सम्म सञ्चालन हुने शिविरमा अंशबण्ड, धनी पुर्जा वितरण, नामसारी, बकस पत्र, दृष्टिबन्धक, भोगबन्धक, लिखित पारित जग्गाधनीको विवरण लगायत सम्बन्धी सम्पूर्ण सेवा दिइने जिल्ला मालपोत कार्यालय पाँचथरका प्रमुख पोख्रेलले बताए ।

अहिले कुम्मायक गाउँपालिकाको समन्वय तथा जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालनमा आएको हो । मङ्सिर ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने घुम्ती शिविरको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले उद्घाटन गरेका थिए । शिविरको उद्घाटन गर्दै अध्यक्ष चेम्जोङले गाउँ घरमै मालपोत सम्बन्धी सम्पूर्ण सेवा नागरिकले पाउने भन्दै खुशी ब्यक्त गरे ।

शिविरको उद्घाटन समारोहमा वोल्दै गाउँपालिका उपाध्यक्ष सिता आचार्य, कुम्मायक—१ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती लगायतले शिविर संचालनले यस क्षेत्रका नागरिकहरुलाई सहजता प्रदान हुने बताएका थिए ।

अहिले सम्म जिल्लाको कुम्मायक गाउँपालिकामा ७ दिने घुम्ती शिविर संचालन भइरहेको छ ।
यसअघि जिल्लाको मिक्लाजुङ र तुम्बेवा गाउँपापालिकामा शिविर संचालन गरिसकिएको छ । उक्त शिविर बाट ३ हजार वढी सेवाग्राही लाभान्वित भइसकेका छन् । यसपछि अव जिल्लाको शिविर संचालन हुन बाँकी रहेका याङवरक,फालेलुङ,हिलिहाङ,फाल्गुनन्द गाउँपालिकामा सेवा प्रदान गर्ने जिल्ला मालपोत कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया