रहेनन् सबैका प्रिय मोहन सर

बैतडी / बैतडीको पाटन बजारस्थित पाटन बहुमुखी क्याम्पसका उप–प्राध्यापक मोहन जोशीको बुधबार भारतको पिथौरागडमा भएको दुर्घटनामा मृत्यु भयो । ४६ वर्षीय जोशीको निधनमा बिहीबार एक हजारभन्दा बढी व्यक्ति सहभागी भएर शवयात्रा निकालियो ।

उनी र उनीसँगै ज्यान गुमाएका दीपक अवस्थीको त्रिपुरेश्वर आर्यघाटमा शुक्रबार दिउँसो दाहसंस्कार गरियो ।

को थिए मोहन सर ?

पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक मोहन जोशी सबै विद्यार्थीहरू र स्थानीयवासीका प्रिय व्यक्ति थिए । उनी आफँैले पढाउने विद्यार्थीहरूलाई तपाईं अथवा हजुर भनेर बोल्ने गर्दथे ।

जोशी अंग्रेजी विषयका अध्यापक थिए । जोशीको निधनले क्याम्पसलाई मात्रै नभई समग्र समाजलाई अपूरणीय क्षति पु¥याएको पाटन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उत्तम भण्डारीले बताए ।

उनले भने ‘यस क्याम्पसमा ‘२०६५ सालदेखि कार्यरत मोहनजी सबै विद्यार्थी र स्टाफहरूका प्रिय थिए । उनी सबैले सम्मान गरेका व्यक्ति हुन् । बुबा पुजारी भएकाले उनी पनि पूजापाठमा सरिक हुने गर्दथे । पूजापाठकै सिलसिलामा भारत गएका उनीसहित पाँच जनाको जिप दुर्घटनामा निधन भयो । उनको निधनले पाटनवासीसहित सबै जिल्लावासी स्तब्ध छौँ ।’ शुक्रबार सीमावर्ती गाउँ भारतको पिथौरागडमा उदयदेव मन्दिरको शिलान्यास गर्ने कार्यक्रम थियो । शिलान्यास गर्नका लागि चारधामको जल ल्याएर फर्किने बेला जिप दुर्घटना भएको हो ।

पिथौरागडमा ज्यान गुमाएका जोशीले उच्च शिक्षा पिथौरागडबाटै अध्ययन गरेका थिए । कक्षा १२ पास गरेपछि सीमावर्ती भारतको पिथौरागड गएका जोशीले पिथौरागड निवासी विनोदबहादुर चन्दको घरमा बसेर पढेका थिए । अन्ततः भारतीय सेनाका रिटायर्ड चन्दले नै चलाएको गाडी दुर्घटनामा जोशी र चन्दसहित पाँच जनाले ज्यान गुमाएका हुन् ।

मृतक जोशी हरेक सामाजिक क्रियाकलापमा अग्रसर हुने व्यक्ति थिए । विवाह, व्रतबन्ध, जात्रा तथा कुनै पनि शुभकार्य हुँदा जोशी खटनपटनमा अग्रसर हुने गर्दथे । आफू पुजारी÷पण्डितको छोरा भए पनि जातीय विभेद र सबैखाले सामाजिक विभेद हटाउन अग्रसर हुने गरेको स्थानीय कमल बोहराले बताए ।

तपाईको प्रतिक्रिया

mgid

Loading…