मिलमा आगो लाग्दा ७० लाखको क्षति

विराटनगर / मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा शनिबार राति आगलागी भएको छ । आगलागीमा परेर अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ । मिलमा धान, चिउरा र पिठो कुटाउने गरिन्थ्यो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल सञ्चालन गरिएको ४ कोठे भवनमा राति ९:५० बजेतिर अचानक आगलागी भएको हो । प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११:३० बजेतिर मात्रै आगो नियन्त्रणमा लिइएको उनले बताए ।

आगलागीको कारण खुल्न सकिरहेको छैन । विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनामा मानवीय क्षति भने भएन । आगलागीमा ७० लाख रूपैयाँ बराबरको क्षति भाएको डीएसपी श्रेष्ठले बताए ।

आगलागीमा परेर मिल सञ्चालन गरिएको दुईवटा कोठा, दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…