हतियारसहित मोरङको मिक्लाजुङबाट एक जना पक्राउ

विराटनगर / हतियारसहित मोरङको मिक्लाजुङ गाउँपालिका–१ का ५८ वर्षीय अरुण भनिने अमृतबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घरमा लुकाईछिपाई राखेको अवस्थामा १२ बोरको टोटा बन्दुक भेटिएपछि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा रहेको टोलीले श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घरमा लुकाएर राखेको अवस्थामा बन्दुक भेटिएपछि श्रेष्ठलाई पनि पक्राउ गरिएको पुष्टि गरे । श्रेष्ठको घरबाट बन्दुकसहित तीनवटा खाली खोका, पाँच सय ग्राम बारुद र दुईवटा मोबाइल बरामद भएको खड्काले बताए ।

मोरङको मिक्लाजुङबाट टोटा बन्दुकसहित पक्राउ परेका अमृतबहादुर श्रेष्ठ ।

बन्दुकसहित पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार हातहतियार खरखजना मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…