विराटनगरका ४७ स्थानमा बस बिसौनी र आइल्याण्ड

विराटनगर / विराटनगर महानगरभित्र ४७ स्थानमाल सेडसहितको बस बिसौनी तथा ट्राफिक आइल्याण्ड निर्माण हुने भएको छ । यसका लागि गत आर्थिक वर्ष २०७४÷७५ मै महानगर र आकृति एड्भरटाइजिङबीच सम्झौता भएको हो । जसअनुसार आकृतिले महानगरभित्र २७ वटा बस बिसौनी सेड र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार सबैस्थानमा निर्माण कार्य सम्पन्न भई महानगरलाई हस्तान्तरण गरेपछि, कम्पनीले प्रत्येक स्थानबाट बार्षिक ३० हजार रुपैयाँ राजस्व महानगरलाई बुझाउने जानकारी दिए । उनले भने, ‘महानगरले उहाँहरुलाई स्थान उपलब्ध गराउने र उहाँहरुले महानगरलाई राजस्व तिर्नु हुनेछ। यसबाट महानगरको आम्दानी हुनेछ ।’

महानगरको पुष्पलाल चौक र धरान विराटनगर सडकखण्डस्थित भृकुटी चौकमा विसौनीको निर्माण भइरहेको छ । जहाँ यात्रुवहाक बस रोक्ने, यात्रु चढाउने ओलार्ने कार्य हुनेछ । त्यसैगरि, पछिल्लोसमय महानगरमा बढ्दो ट्राफिकजामको समस्या हल गर्न महेन्द्रचौकदेखि भृकुटीचौकसम्म करिब ४ स्थानमा तत्काल आईल्याण्ड लगाउने महानगरले जनाएको छ ।

अर्कोतर्फ, आकृतिका विराटनगरस्थित बजार ब्यवस्थापक किरण गिरीले केहीदिन भित्र निर्धारित स्थानमा आइल्याण्ड राख्ने कार्य सम्पन्न हुने बताए । गिरीका अनुसार महानगरले स्थानसँगै सडकको क्षेत्र उपलब्ध गराए २० दिनभित्र निर्धारित सबै क्षेत्रमा काम सम्पन्न हुनेछ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बिसौनी सेड निर्माणका क्रममा केहीस्थानमा समस्या आएको बताए । उनले भने, ‘कतिपय स्थानमा महानगरकै पदाधिकारी निर्माणस्थल पुग्नुपर्ने, स्थानीयमाझ सहजीकरण गर्नुपर्ने अवस्था छ ।’महागनरले आकृतिलाई कम्तीमा १० वर्षको लागि ती स्थान भाडामा दिने र त्यसपछि पुनः नवीकरण गरि सम्झौता अघि बढाउन सक्ने प्रावधान रहेको जनाएको छ । बस विसौनी सेडमा विद्युत, मोबाईल चार्जिङ, बस्ने सकिने ब्यवस्था हुनेछ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…