झापा / जिल्ला प्रहरी कार्यालय झापाले किर्ते तथा अनियमितता गरी नागरिकता बनाउने कार्यमा सम्लग्न भएको भन्दै पाँच जनाको नाम सार्बजनिक गरिरहँदा जनप्रतिनिधिको नाममा भने पक्राउ पुर्जी जारी भएको छ ।
गैर नेपालीलाई नागरिकता दिनका लागि सिफारिस गरेको आरोपमा बिर्तामोड नगरपालिका – ८ का वडा अध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका – ९ का वडा अध्यक्ष सनिलाल राजवंशी सहितलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी काटेको हो । जनप्रतिनिधि सहित कर्मचारीको मिलेमत्तोमा १६ जना गैर नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले यस अघि पाँच जनालाई पक्राउ गरेको छ ।
गैर नेपालीलाई नेपाली नागरिकता दिने कार्यमा ४६ जना सम्लग्न रहेको बताइएपनि प्रहरीले दुई वडा अध्यक्ष सहित ११ जनालाई गत भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले जनप्रतिनिधि सहित जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल, नायव सुव्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चुडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जिवी अधिकारी, विर्तामोड – ८ का तत्कालीन सचिव लोकराज वराल, भद्रपुर ९ का वडा सचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपाने लाई पक्राउ पुर्जी जारी गरेको थियो । सो लगत्तै प्रहरीले घटनामा संलग्न कर्मचारीद्वय तेजिन्द्र न्यौपाने र लोकराज वराललाई पक्राउ गरिसकेको छ ।
घटनामा संलग्न रहेको भन्दै बिर्तामोड नगरपालिका – ५ का टेकबहादुर गुरुङ, भद्रपुर – १० का प्रेम तिम्सिना र भीमबहादुर लिम्वूलाई समेत प्रहरीले यस अघि नै पक्राउ गरेको छ । विर्तामोड नगरपालिका – ८ का अध्यक्ष कार्की राप्रपाबाट निर्वाचित भएका हुन् भने भद्रपुर – ९ का अध्यक्ष नेकपाका कार्यकर्ता हुन् ।