विराटनगरका अर्का वडाअध्यक्षलाई पनि देखिएको कोरोना संक्रमण

विराटनगर / विराटनगर महानगरपालिकाका अर्का वडाअध्यक्षलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पीसीआर परीक्षण गराएका विराटनगर–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेको रिपोर्ट सोमबारराति ९ः३० बजेतिर पोजेटिभ आएको हो । उनले आइतबार स्वाब परीक्षणका लागि दिएका थिए ।
केही दिनअघि कोरोनाको लक्षण देखिए पनि अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी उनले दिए । न्यौपाने चिकित्सकसँग परामर्श गरेर अहिले ‘होम आइसोलेसन’मै बसेका छन् ।

महानगर र वडाको एकदुईवटा कार्यक्रममा सहभागी हुँदा आफूलाई कोरोना संक्रमण भएको हुन सक्ने उनले बताए । न्यौपाने समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा संक्रमण नियन्त्रणका लागि सक्रिय भएर लागेका थिए । उनी कोरोना संक्रमित हुने विराटनगरका तेस्रो जनप्रतिनिधि हुन् । यसअघि विराटनगर–२ र ५ का वडा अध्यक्ष कुमार पोखरेल र मीनकुमार आचार्यमा संक्रमण पुष्टि भइसकेको छ । न्यौपाने, पोखरेल र आचार्य तीनै जना सत्तारुढ नेकपाकोतर्फबाट वडाको नेतृत्व गरिरहेका जनप्रतिनिधि हुन् । उनीहरु तत्कालिन एमालेबाट उम्मेदवारी दिएर वडामा विजयी बनेका थिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई पनि आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीसहित महानगरका केही कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् । आफ्ना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि पराजुली सुरक्षित रहनका लागिभन्दै विराटनगरको जैन भवनमा क्वारेन्टाइनमा बसेका हुन् । मेयर पराजुली र उपमेयर कार्की संक्रमण पुष्टि भएका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत पोखरेलसँग केही कार्यक्रममासँगै थिए । मेयर पराजुलीको भने यसअघि गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको छ ।

मेयरसँगै महानगरका केही कर्मचारी, स्वास्थ्यकर्मी तथा पराजुलीको निजी सचिवालयका कर्मचारी अहिले क्वारेन्टाइनमा बसेका छन् । रिपोर्ट नेगेटिभ आए पनि सुनिश्चित हुनका लागि अर्को पटक परीक्षण गर्नुपर्नेमा स्वास्थ्यकर्मीले सुझाव दिएसँगै आफू क्वारेन्टाइनमा बसेको उनले बताए ।

कोरोना संक्रमण विराटनगरमा बढ्दै गर्दा महानगरले विराटनगरका विभिन्न धार्मिक धर्मशाला तथा अतिथीगृहमा क्वारेन्टाइन तथा आइसोलेसनकोसमेत व्यवस्थापन गरेको थियो । कर्मचारी र जनप्रतिनिधिमा संक्रमण देखिन थालेपछि महानगरले पाँच दिनका लागि कार्यालयबाट प्रदान हुँदै आएका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…