वडा अध्यक्षले राहतको चामल लुकाएको आशंकामा गोदाम सिल

इनरुवा / सुनसरीको इनरुवा ३ स्थित महेन्द्रचोकमा फेला परेको ४ सय ५० बोरा चामल वडा अध्यक्षले लुकाएको आंशकामा प्रशासनले गोदाम सिल गरेको छ ।
कोठा भाडामा लिई गोदाम घरका रुपमा प्रयोगमा ल्याइएको युवराज दाहालको तल्लो फ्याइट प्रशासनले सिल गरेको हो ।

प्रशासनले सिल गरेको फ्लाइट भोक्राहा नरसिंह गाउँपालिकाका वडा अध्यक्षद्धय हारुन अन्सारी र हातिम अन्सारीले व्यक्तिगत प्रयोजनको लागि भाडामा लिएको समेत खुलेको छ । प्रशासनले प्राप्त सूचना पश्चात छानविनको क्रममा ४ सय ५० बोरा चामल भण्डारण गरेको पाइएकाले तत्काललाई सिल गरिएको जनाएको छ ।

प्रशासन समक्ष भोक्राहाकै स्थानीयले प्रमाण सहितको सूचना दिएको बताइएको छ । स्थानीयले दिएको उजुरीमा कोरोना महामारीका बिच घोषित लक डाउनको क्रममा विपन्नलाई वितरण नगरी वडा नम्बर ४ का अध्यक्ष हारुन अन्सारी र वडा नम्बर ८ का अध्यक्ष हातिम अन्सारीले चामक लुकाएर राखेको दावी गरिएको छ ।

उनीहरुले साबुन समेत लुकाएर राखेको सूचना प्रशासनलाई दिएको बुझिएको छ । सुनसरीका प्रमुख जिल्ल अधिकारी फणिन्द्रमणि प्रजिअ पोखरेलले २५ केजी दरका ४ सय ५० बोरा चामल कोठामा राखेको भेटिएको बताए । उनले उक्त परिमाणको चामल कसले कुन प्रयोजनको लागि राखेको हो भन्ने विषयमा छानविन थालिएको बताए । पोखरेलका अनुसार प्रशासनमा परेको उजुरीमा सो चामलका बोरा भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरुले लुकाएको उल्लेख छ ।

सुनसरी प्रशासनले सो सम्वन्धमा परेको उजुरी, प्राप्त सुचना र फेला परेको गोदामको विषय केन्द्रीत रही भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय समक्ष विस्तृत जानकारी खुलाई लिखित जवाफ पठाउन पत्र काटिएको जनाएको छ ।

प्रशासनले चामल कसको र किन राखिएको हो भन्ने व्यहोरा स्पष्ट खुलाउन गाउँपालिकालाई भनेको जनाएको छ । प्रशासनले कुन प्रयोजननको लागि चामल खरीद भएको हो र घरभाडा कसले लिएको समेत स्पष्ट पार्न भनेको बताइएको छ ।

प्रजिअ पोखरेलले गाउँपालिकाबाट प्राप्त जवाफ सँगै आवश्यक्ता अनुरुप उजुरी परेका वडा अध्यक्ष उपर समेत सोधपुछ गरिने बताएका छन् । उनले घरधनी सँग समेत सोधपुछ गरिएको बताए ।

प्रशासनबाट प्राप्त जानकारी अनुसार घरधनीले आफ्नो घरको तल्लो फ्लाइटमा कात्तिक महिना देखिनै चामल भण्डारण गरेर राखिएको बताएका छन् । घरधनीलाई उद्यृत गर्दै प्रशासनले दिएको जानकारी अनुसार वडाअध्यक्ष हारुन र हातिम अन्सारीले ८ हजार भाडा तिर्दै आएका छन् ।

भोक्राहाका उजुरकर्ता स्थानीयले भने स्वयं जनप्रतिनिधिले लक डाउनको समयमा गरिब र विपन्नलाई वितरण गर्न गाउँपालिकाले खरीद गरेको र अनुदानमा प्राप्त चामल वडा अध्यक्षले लुकाएर राखेको दावी गरेका छन् । लुकाएर राखिएको चामल सहजै विक्रि गर्न असम्भव देखिदा लामो समययता गोदाममा थन्किएर रहेको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

mgid

Loading…