बिर्तामोडमा अब तातो पानी वितरण

बिर्तामोड / बिर्तामोडमा उपभोक्ताका लागि तातो पानी वितरण गरिने भएको छ । बिर्तामोड सानो शहरी तथा खानेपानी सरसफाई उपभोक्ता संस्थाले पिउने पानीको आपूर्तिसँगै घरायसी उपभोगका लागि तातो पानी वितरण प्रणाली विकास गरी तत्कालका लागि निश्चित क्षेत्रका उपभोक्तालाई सो सुविधा उपलब्ध गराउने भएको हो । जाडोको समयमा उपभोक्ताका लागि तातो पानी अति आवश्यक भएकाले यस्तो प्रणालीको विकास गर्न लागिएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

संस्थाको १८औं बार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै गुरुङले संस्थाको भावी योजना प्रस्तुत गर्दै टेकबहादुर गिरी बसपार्क क्षेत्रमा डिप वोरिङ र फिल्टर प्लान्ट जडानका कार्य सम्पन्न भइसकेकाले उक्त स्थानमा कार्मचारी आवाससहित एउटा ओभरहेड ट्यांकी समेत निर्माण गर्ने बताएका छन् । उनले सेवाग्राहीहरुलाई शुद्ध, स्वच्छ पिउने पानी सर्वशुलभ दरमा उपलब्ध गराउन मिनिरल वाटर उत्पादन परियोजना सञ्चालन गरी बोतल तथा जारमा समेत भरेर संस्थाको ब्रान्डमा बजारमा उपलब्ध गराउने कार्यका लागि आवश्यक रणनीति अगाडि बढाउने बताए ।

उपभोक्ताको माग बमोजिम आवश्यक क्षेत्रहरुमा पाइपलाइन विस्तार गर्दै पुरानो पाइप लाइन तथा नयाँ विस्तारित पाइप लाइनकाबीच नेटवर्क व्यवस्थापन गर्ने र पानी परीक्षणको ल्याबलाई परीक्षण गर्ने अध्यक्ष गुरुङले बताए । संस्थाको आफ्नै वेवसाइट निर्माण गरी संस्थाका गतिविधिलाई व्यवस्थित गर्ने र नियमित रुपमा यथासमय महशुल भुक्तानी गर्ने देशकै उपभोक्ताहरुमध्ये प्रतिबर्ष एक महिला र एक पुरुषलाई सम्मानित तथा पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने उनले बताए ।

संस्थाको कार्यालयमा रहेको १ नम्बर ट्यांकीमा अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने र ३ नम्बर ट्यांकीमा निकट भविष्यमै एकथान फिल्टर प्लान्ट जडान गर्ने अध्यक्ष गुरुङको भनाइ छ । संस्थाको १ र २ नम्बर ट्यांकीमा एक÷एक डिप वोरिङ निर्माण गर्ने र संस्थाको २ नम्बर ट्यांकीमा एउटा भूमिगत ट्यांकी निर्माण गर्ने संस्थाको उद्देश्य रहेको गुरुङले जानकारी दिए । जथाभावी रुपमा हुने गरेको जग्गाको प्लटिङ र बाटो ढल आदिको अव्यवस्थित निर्माणका कारण संस्थाको पाइप लाइनमा अत्यधिक क्षति पुग्ने गरेको उनको भनाइ छ । शहरी क्षेत्रमा ढलको राम्रो प्रबन्ध नभएकाले कतिपय स्थानमा विच्छ्याएको पाइप लाइनको माथिबाट ढल निर्माण हुने गरेकाले खानेपानी वितरणमा समस्या थपिएको अध्यक्ष गुरुङले बताए ।

विगत २० बर्ष अगाडि निर्माण गरिएको पाइप लाइन तथा भल्व चेम्बरहरु हाल शहरीकरण र सडक विस्तार गरिएकाले धेरै क्षेत्रमा बढी गहिराई र सडकको बीचमा परेकाले पाइप लाइन मर्मत तथा धारा जडानमा कठिनाई हुने गरेको उनको भनाइ छ । तीब्र शहरीकरणका कारण सेवा क्षेत्रमा बसाइँसरी आउनेको संख्या धेरै भई पानी उत्पादन क्षमताभन्दा माग बढी भएकाले सेवाग्राहीको माग अनुसार धारा वितरण गर्न नसकिएको गुरुङले बताए । बिर्तामोड–भद्रपुर सडक निर्माणको कार्य धमाधम भइरहेकाले संस्थाले विगतमा जडान गरेका पाइप लाइनहरु विक्षत हुन गई पानी आपूर्तिमा समस्या भइरहेको उनले बताए ।

यसैबीच बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडलाई पानीट्याङ्कीरहीत सेवा उपलब्ध गराउन जोड दिइएको छ । २४सै घण्टा पानी धारामा आउने वातावरण भएपछि घरको माथि पानी सञ्चय गर्ने प्रथा हट्दै जाने कार्यक्रममा वक्ताहरुले उल्लेख गरे । संस्थाद्वारा मंगलवार बिर्तामोडमा आयोजित १८औं बार्षिक साधारणसभाका क्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुले घरको माथि राखिने पानीट्याङ्की हटाउने अवस्था सिर्जना गर्न आग्रह गरेका थिए ।

अध्यक्ष गुरुङले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका समस्या तथा चुनौति र भावी योजनाका बिषयमा जानकारी गराएका थिए । उनले बिर्तामोड खानेपानी मिनिरल वाटरभन्दा राम्रो भएको दावी गरे । कोषाध्यक्ष राधा सुव्वाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका लेखा परीक्षक मोहन शिवाकोटीले आर्थिक प्रतिवेदनको बारेमा प्रष्ट पारेका थिए । संस्थाले आर्थिक बर्ष २०७५÷०७६मा ४ करोड ५७ लाख २८ हजार ७ सय १० रुपैयाँ २१ पैसा आम्दानी गरेको छ भने खर्च २ करोड ५२ लाख २० हजार ५ सय ८७ रुपैयाँ ३६ पैसा गरेको लेखा परीक्षक शिवाकोटीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष तथा साना शहरी राष्ट्रिय खानेपानी उपभोक्ता महासंघका अध्यक्ष टोरुप प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष पर्शुराम सिटौलाले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, चारआली खानेपानी आयोजनाका लालबहादुर थेवे, बिर्तामोड नगरपालिका–२का वडाध्यक्ष नगेन्द्र संग्रौला, समाजसेवी हर्कलाल गिरी, नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईं, लोकबन्धु कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव मेघराज बास्तोलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…