मेघा सहकारीको ११ औ वार्षिक साधारणसभा सम्पन्न : ऋण लगानी गर्दा सावधानी अपनाउन सुझाव

इटहरी । सुनसरीको इटहरीस्थित मेघा बचत तथा ऋण सहकारी संस्थाले शनिवार ११ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बलराम भण्डारीको सभाध्यक्षमा सम्पन्न साधारणसभामा उपस्थित अधिकांश बत्ताहरूले बिना धितो ऋण लगानी नगर्न सुझाव दिएका छन् । अवैध तथा ब्याक्तिगत रूपमा बिनो धितो ऋण लगानी गर्दा धेरैजसो सहकारीहरू अहिले बन्द हुने अवस्थामा पुगिसकेकोले त्यस तर्फ ध्यान पुर्‍याउन कार्यक्रमका अतिथिहरूले सुझाव दिएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगर ६ नं वडाका वडाध्यक्ष दिवस पोख्रेलले वडागत तथा नगर क्षेत्रमा सञ्चालित सहकारीहरूको अनुगमन गर्दा धेरै जसो सहकारी बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगिसकेको बताए । मुलुक आर्थिक तरलताका कारण जटिल अवस्थाबाट गुज्रिरहेको अवस्थामा पनि मेघा सहकारीले गरेको वार्षिक कारोबारलाई हेर्दा सन्तोषजनक रहेको बताउँदै प्रमुख अतिथि पोख्रेलले सहकारी सम्बन्धी कुनै पनि तालिमको आवश्यक परे स्थानीय सरकारसँग समन्वय गर्न सुझाव दिए ।

संस्थाले आर्थिक वर्ष ७८,७९ मा मात्रै विभिन्न शीर्षकहरूबाट ९४ लाख ५४ हजार ८१३ रूपैया रकम नाफा कमाएको वार्षिक प्रगति विवरणमा उल्लेख छ । त्यस्तै हाल संस्थामा कुल १०९९ जना शेयर सदस्य रहेकोमा यो आर्थिक वर्ष भित्र १५ सय जना पुर्‍याउने लक्ष लिएको छ ,साथै संस्थासँग हाल १ करोड ३९ लाख ३३ हजार३५ रूपैया बराबरको स्थिर सम्पत्ति रहेको प्रतिवेदनले जनाएको छ ।

कार्यक्रममा संस्थाका करिब ३०० सेयर सदस्यहरूको उपस्थिति रहेको थियो भने इटहरी उपमहानगर सहकारी शाखा प्रतिनिधि सुमन पौडेल , बचत तथा ऋण सहकारी संघ सुनसरीका सचिव प्रह्लाद दाहाल , राष्ट्रिय सहकारी बैङ्क लिमिटेड इटहरीका शाखा प्रमुख चिरञ्जीवी तिम्सिना लगायतले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया